तपाईँ सुन्दै हुनुहुन्छः

ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

दमौली। तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो ।

गत वर्षको मङ्सिर पहिलो सातादेखि काम शुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वैशाखसम्म सडक कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

सडक कालोपत्र गर्ने म्याद विसं २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ । “बेस हाल्न शुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन”, ढुङ्गानाले भन्नुभयो ।

ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ । उक्त सडकको ट्रयाक विसं २०५२ मा खुलेको थियो । सडक कालोपत्रका लागि काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो ।

छ किमी सडकको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्र गरिनेछ । सडकको एक÷एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ । उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो ।

ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम शुरु भएपछि स्थानीयवासी खुशी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताउनुभयो । सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताउनुभयो । “सडक कालोपत्र सम्पन्न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ”, गुरुङले भन्नुभयो ।

भूकम्पले भत्किएको गुम्बा पुनःनिर्माण शुरु

विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनःनिर्माण शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनःनिर्माण शुरु गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा दुईवटा गुम्बा पुनःनिर्माणका लागि सम्झौता भएकामा एउटाको काम शुरु भएको र अर्को गुम्बाको पनि काम शुरु गर्न ताकेता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराएको छ । रु ८७ लाख ७३ हजार ६२० को लागतमा दुई गुम्बा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।

गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनःनिर्माण हुनेछ । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार ४७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार ५४५ बेहोर्नेछन् । बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६०० को लागतमा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६०० उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button