२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली पर्व मनाइँदै

रेडियो नेपाल २०७७ पुष १५ गते ७:१८

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ ।

किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताउनुभयो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

धान्य एवं योमरी पूर्णिमा मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरी धान्य पूर्णिमा पर्व मनाउँछन् । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । आजको दिन यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ ।

योमरी पूर्णिमा (योमरी पुन्हि)

नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

तमु ल्होसार

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।

सम्बन्धित