तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका एकल महिलाको जीविकोपार्जनका लागि पशुपक्षी पालन कार्यक्रम

जनकपुरधाम । जिल्ला पशु सेवा ज्ञान केन्द्रले धनुषाले जिल्लाका चार वटा पालिकाहरूमा भएका एकल महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि पशुपक्षी पालनका लागि अनुदान दिने भएको छ ।
कार्यालयले ती चार पालिकाका १/१ वडाका  १ सय २० जना एकल महिलालाई छनौट गरेर बाख्रा, बङ्गुर, हास तथा कुखुरा पालनका लागि कार्यक्रम ल्याएको पशु सेवा ज्ञान केन्द्र धनुषाका प्रमुख इन्द्रदेव साहले जानकारी दिनु भयो ।
एकल महिलाको जीविकोपार्जन गर्नमा मद्दत पुर्‍याउने उद्देश्यले धनुषाको कमला नगरपालिका वडा नंं २ का ४० एकल महिलालाई बाख्रा वितरण गर्ने कार्यक्रम राखेको र दरखास्त लिने काम भएको जानकारी दिनु भयो ।
यसै गरी धनुषाको धनुषाधाम वडा नंं १ मा २० एकल महिलाका लागि बङ्गुर वितरण कार्यक्रम, मिथिला नगरपालिका वडा नंं २ का ४० एकल महिलालाई कुखुरा पालनका लागि तथा धनुषाकै लक्ष्मिनीया गाउँपालिकाका २० जना एकल महिलालाई हास कार्यक्रमका लागि अनुदान दिने कार्यक्रम रहेको कार्यालय प्रमुख साहले बताउनु भयो ।
एकल महिलाको जीविकोपार्जनमा समस्या नहोस् भन्नका लागि प्रदेश नंं २ का सरकारले दिएको बजेटबाट बाख्रा पालनका लागि ६ लाख ४० हजार, बङ्गुर पालनका लागि ६ लाख ५० हजार, कुखुरा पालनका लागि २ लाख ४० हजार तथा हास पालनका लागि २ लाख ४० हजार रकम विनियोजन गरेको छ ।
पशु सेवा ज्ञान केन्द्रमा परेको आवेदनहरूको छानबिन गरेर छनौट समितिको बैठक बसेर विपन्न एकल महिलाको छनौट गरेर उन्नत जातको बाख्रा, बङ्गुर, कुखुरा तथा हासको वितरण गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button