तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको नेचासल्यानमा कृषि तथा औद्योगिक मेला प्रदर्शनी

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि कृषि तथा औद्योगिक मेला प्रदर्शनी गरेको जनाएको छ ।

कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा १४ प्रकारका एक हजार भन्दा माथि संख्याका कृषि तथा औद्योगिक सामाग्री लिएर २९३ कृषकले सहभागिता जनाएका छन् । जसमा बेतबाँस, हाते होजियारी, खाँडी, जरे तथा कन्दमुल, मसला बाली, नगदे बाली, दलहलन बाली, तरकारीबाली, फलफुल, खाद्यान्न बाली, तेहलन बाली, फर्निचर, साँस्कृतिक भेषभुषा, विविध रहेको थियो ।

प्रदर्शनीको मूल्याङ्कन कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा तिरुवा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाका प्रमुख पुर्ण ढुङ्गाना, घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख कपिलमणि दाहाल, नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शलिकराम बस्याल लगायतले गर्नुभएको थियो ।

जसमा ४५ जना कृषक पुरस्कृत भएका छन् । प्रथमलाई तीन हजार, दोस्रोलाई दुई हजार, तेस्रोलाई एक हजार पाँच सय रुपियाँ र सान्वनालाई एक हजार रुपियाँको साथमा प्रमाण पत्र प्रदान गरिएको छ । प्रदर्शनीमा सहभागी अन्य कृषकलाई पाँच सय रुपियाँका दरले यातायात खर्च प्रदान गरिएको छ ।

जिल्लाकै अन्नभण्डारका रुपमा रहेको यस गाउँपालिकामा कृषिका पुर्वाधार निर्माणलाई जोड दिइरहेको बताउँदै गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले कृषि तथा औद्योगिक मेला प्रदर्शनीले कृषि क्षेत्रको विकासमा सहयोग गर्ने बताउनुभयो । आफूले उत्पादन गरेका कृषि उपजको प्रदर्शन गर्न पाउँदा खुशी भएको सहभागी कृषकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button