तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कफ्र्यु

मुम्बई। कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कफ्र्यु जारी गरिएको छ ।दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कफ्र्यु आदेश जारी गरिएको छ ।

कफ्र्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कफ्र्यु लगाएको हो ।

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कफ्र्यु लगाइएको अधिकारीहरूले जनाएका छन् ।

नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गर्नुभएको छ ।

चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कफ्र्यु लगाइएको अधिकारीहरूको भनाइ छ ।

भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button