तपाईँ सुन्दै हुनुहुन्छः

क्याम्पसमा अध्ययनरत छात्रालाई निःशुल्क सेनिटरी प्याड सहयोग

तनहुँ । तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १ विज्ञान चौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत छात्राका लागि सेनिटरी प्याड सहयोग गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले क्याम्पसलाई मङ्गलवार दुई हजार सेनिटरी प्याड सहयोग गरेको शिक्षा शाखाका अधिकृत सन्तोष गोदारले जानकारी दिनुभयो ।
क्याम्पसमा अध्ययनरत छात्राहरूको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले व्यास नगरपालिकाले दुई हजार प्याकेट सेनिटरी प्याड क्याम्पसलाई हस्तान्तरण गरेको हो ।
क्याम्पसमा करिब दुई हजार छात्राहरू अध्ययनरत रहेको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ । क्याम्पसमा अध्ययनरत मध्ये ९० प्रतिशत छात्राहरू ग्रामीण भेगका रहेका छन् ।
उनीहरू मध्ये धेरै जना महिनावारीका समय हरेक महिना ३ देखि ४ दिनसम्म क्याम्पस अनुपस्थित हुने गरेका क्याम्पसले बताएको छ ।
निःशुल्क प्याड वितरणले छात्राहरूको अध्ययन नियमित गराउन सहायता पुग्ने सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले बताउनुभयो ।
उक्त प्याड नगरपालिकाका शिक्षा शाखाका अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाइ मङ्गलवार क्याम्पस मै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button