तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीमा स्टिमर सेवा पुन:सञ्चालनमा

पर्वत- पर्वतको बिहादी गाउँपालिका ४ सेतीबेनी स्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा सञ्चालित स्टिमर सेवा पुन: सुरु भएको छ । वर्खामा पानीको वहाव बढेपछि बन्द भएको स्टिमर सेवा हिउँद शुरु भएर नदीमा पानीको सतह घटेपछि सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरू भएको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । लामो समयसम्म वर्षा भएकाले बहाव नघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरू भएको पराजुलीले बताउनुभयो ।

सहज रूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जल यातायात प्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकाले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताउनुभयो ।

रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ । स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले जानकारी दिनुभयो । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको भुसालले बताउनुभएको छ ।

स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० ओटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईओटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए । स्टिमर सेवा सञ्चालनपछि चार घन्टाको यात्रा आधा घन्टामा छोटिएको भट्टराईको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरी आधा संख्यामा मात्र यात्रु राख्ने गरिएको छ भने भाडादर बढाइएको छ ।

सेवा पुनः शुरू भएपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सहज बनाएको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button