तपाईँ सुन्दै हुनुहुन्छः

बन्जिजम्प कार्तिक १५ देखि व्यवसायिक रुपमा सञ्चालन हुने

पर्वत- कोरोना महामारी र लकडाउनका कारण सञ्चालन हुन नसकेको कालीगण्डकीको बन्जिजम्प र स्विङ कार्तिक १५ गते देखि खुल्ला गरिने भएको छ ।

पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरि कालीगण्डकी नदीमाथी बनेको बञ्जिजम्प कार्तिक १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याईने बन्जिजम्प प्रवर्दक कम्पनी द क्लिफ प्रालीले जनाएको छ ।

बन्जिजम्प सञ्चालन भएपछि पर्वतमा पर्यटकहरुको चाप बढ्ने भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि बन्जिजम्प सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

२०७३ सालदेखी बन्जि सहितका साहासिक खेलको निर्माण कार्य सुरु गरिएको थियो । यस अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । कालीगण्डकीको तिर देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ ।

द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा आफुलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ बिश्वकै अग्लो बनेको कार्कीले बताउनुभयो ।

बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ । पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ । टेण्डम (जोडि) स्वीङको १२ हजार छ ।

बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ ।

सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको सञ्चालक यूवराज जोशीले बताउनुभयो ।

पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ लाग्ने जोशीले जानकारी दिनुभयो । स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ पनि सञ्चालन गरिने भएको छ । कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ । दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने जोशीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने जनाईएको छ । साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ । स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button