तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना सङ्क्रमणको महामारीका बिच बजेट कार्यान्वयन सन्तोषजनक’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना सङ्क्रमणको महामारीका बिच आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. खतिवडाले समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको र समग्रमा ७१ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्व ४१ अर्व रुपैयाँ राजस्व सङ्कलन भएको र पुँजीगततर्फ केही कम खर्च भए पनि चालू आर्थिक वर्षको बजेट लक्ष्य पूरा गर्न सफल भएको बताउनुभयो ।

अर्थमन्त्री डा. गत खतिवडाले चालूतर्फको खर्च बढी हुँदा आर्थिक वृद्धिमा असर देखिए पनि केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको २ दशमलव ३ प्रतिशत कै हाराहारीमा आर्थिक वृद्धिदर कायम हुने अनुमान रहेको उल्लेख गर्नुभयो ।

उहाँले असारपछि राजस्वले गति लिएको र खर्चसमेत बढेको जानकारी दिनुहुँदै अघिल्लो आर्थिक वर्ष व्यापार घाटामा सुधार भएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले अघिल्लो आर्थिकबर्षहरुको तुलनामा गत आर्थिक वर्ष २०७६÷०७७ मा ४ प्रतिशत मात्र रकमान्तर भएको समेत जानकारी दिनुभयो ।

उहाँले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षको पहिलो दिन आज नै बजेटसँग सम्बन्धित मार्गदर्शन जारी गरिएको र बजेट कार्यान्वयनको पूर्व तयारीका विषयमा ठुला बजेट भएका मन्त्रालयहरूसँग छलफल र ताकेता अघि बढाइएको जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले चालू आर्थिक वर्षको बजेट कार्यन्वयनसम्बन्धि मार्गदर्शन, निर्देशिका साउनभित्रै जारी गर्ने र मन्त्रालयले तयार गर्नुपर्ने नयाँ कार्यविधिहरू भदौ मसान्तभित्रै तयार गरिसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले स्थानीय निकायको बजेट खर्च औसतमा ४० प्रतिसतमात्र खर्च भएको र कतिपय स्थानीय तहको गाउँ÷नगर सभाले बजेट पास नै गर्न नसकेको समेत जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले सबैभन्दा बढी बेरुजुमा अर्थ मन्त्रालयकै देखिएको, पूजिंगत खर्च बढाउन नसकिएको, बजेटले नागरिकको जीवनमा खासै परिवर्तन ल्याउन नसकेको लगायत वित्तीय अनुशासन कमजोर रहेको र बजेट बाँडफाँडमा विश्वसनीयता गुम्दै गएको भन्दै अर्थ मन्त्रालयको भूमिका प्रति प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button