तपाईँ सुन्दै हुनुहुन्छः

निगुःपुखुःउद्घाटन तथा सांस्कृतिक उत्सव सम्पन्न

भक्तपुर । संरक्षण अभावमा वर्षौंदेखि खेल मैदानको रुपमा परिणत भक्तपुरको ऐतिहासिक दुई पोखरी (निगुःपुखुः)लाई मध्यपुरथिमि नगरपालिकाले पुननिर्माण गरेको छ ।

मध्यपुर थिमि–४स्थित दुई पोखरी संरक्षण तथा पुनर्निमाणको पहिलो चरणमा दुई पोखरी मध्यको एक सानो पोखरी पुनर्निर्माण गरी नगरपालिकाले शनिबार साँझ सांस्कृतिक मौलिक बाजागाजासहित उद्घाटन गरेको छ ।

पोखरीको उद्घाटन गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिकशैली मै ठडिन थालेको बताउनुभयो । उहाँले नगरभित्रका मुर्त र अमुर्त सम्पदाको संरक्षणका लागि नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिरहेको बताउनुभयो ।

महत्व र आवश्यकताको आधारमा सम्पदाको प्राथमिकीकरण गरी नगरपालिकाले पुननिर्माण र संरक्षणको योजना अघि बढाएको बताउनुभयो ।

नगरपालिकाले उपभोक्ता समितिमार्फत यस पोखरीमा चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी बिछ्याएर, इँटा छापेर पानी भरेको छ । सुरूमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाङ्गो माटो र पुनः ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएपछि इँटा सोलिङ्ग गरेर पानी टिकाउने कार्य गरेको उहाँले बताउनुभयो ।

सानो पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले करीब डेढ करोड रुपैयाँ खर्चेको छ । दुईपोखरी अन्तर्गत ठूलो पोखरी संरक्षण तथा पुनर्निर्माणको कार्य समेत थालनी भएको उहाँले बताउनुभयो ।

सो पोखरी संरक्षण तथा पुननिर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा एक करोड २५ लाख रुपैयाँ र बागमती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ ।

आकाशे पानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि–४स्थित ऐतिहासिक दुई पोखरीमा पानी भर्ने प्रस्ताव अनुरुप पुनर्निर्माण भएको हो । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।

तीन वर्षमा दुबै पोखरी पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रुपमा दुई पोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । हाल पोखरी वरिपरी ६ वटा फल्चा अवस्थित छ ।

नगरपालिकाले दुईपोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शन स्थल निर्माण गर्ने लक्ष्य लिएको मध्यपुर थिमि–४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।

निगुः पुखु पुनर्निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिकी सचिव सरु श्रेष्ठले प्रवेश शुल्कबाट उठेको रकमबाट एउटा कोष बनाउने र त्यो पोखरीकै लागि प्रयोग गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा साँंस्कृतिक कार्यक्रममा सहभागी हुने अतिथि, कलाकारहरु, पोखरी पुनर्निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु र कार्यक्रमका स्वयमसेवकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा सहभागी हुनेहरुमध्ये पोखरीभित्रै पुगेर कार्यक्रममा सहभागी हुने व्यक्तिहरुसँंग दुई सय शुल्क उठाइएको र सोबाट संकलित रकम संरक्षण कोषमा जम्मा गरी पोखरीको संरक्षणमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।

बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको थिएन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेको अवस्थामा उद्घाटन कार्यक्रम गरिएको भए पनि आयोजकले यथासंभव भौतिक दुरी कायम गर्ने कोशिस गरेको देखिन्थ्यो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, महनगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेबी थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धब रिजाल, नगरपालिकाका पुर्व प्रमुख मदनकृष्ण श्रेष्ठ,पुर्व उपप्रमुख चन्दनकृष्ण श्रेष्ठ,पत्रकार महासंघका भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नाचगुरु श्रीगोपाल प्रजापति, जिल्ला समन्वय समितिका सदस्य, वडाध्यक्ष, पत्रकार,स्थानीय संस्कृतिकर्मी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा पोखरी वरिपरी दिपावली गरिनुका साथै बिभिन्न स्थानीय सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।
पोखरी पुननिर्माणपछि पर्यटकको आकर्षणको केन्द्र बन्ने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button