कास्की फुटबल संघको अनियमितताका बारेमा छानबिन सुरु
कास्की जिल्ला फुटबल संघको अनियमितताका बारेमा छानबिन सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वको छानविन समितिले बुधबारबाट एन्फा कास्कीको अनियमितताबारे छानबिन थालेको हो ।
लामो समयबाट एन्फा कास्कीमाथि छानबिन हुनुपर्ने माग बढेपछि एन्फाले उपाध्यक्ष खड्काको नेतृत्वमा समिति बनाएको थियो । समितिमा खड्कासँगै आनन्द रंजित र नारायण अधिकारी रहेका छन् ।
एन्फा कास्कीको अनियमितता छानबिन गर्न एन्फाद्वारा गठित टोली मंगलबार पोखरा पुगेको थियो । समितिका संयोजक खड्काका अनुसार समितिले एन्फा कास्कीको वर्तमान कार्यसमितिको दुई वर्षको हिसाबकिताब हेर्नेछ । यससहित पूर्व कार्यकारी समितिको आर्थिक पक्ष पनि छानबिन गरिनेछ ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघमा बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेका थिए । त्यसयता एन्फा कास्की माथि छानविन गरिनुपर्ने माग बढेको थियो ।
यसअघि पनि एन्फाले केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । तर त्यस समितिले आफ्नो प्रतिवेदन बुझाउन सकेको थिएन । उक्त समितिका संयोजक रत्नकुमार श्रेष्ठले स्वास्थ्य अवस्था कमजोर रहेको बताउँदै राजीनामा दिएपछि नयाँ समिति गठन भएको थियो ।
लगत्तै गत असार २ गते एन्फा कार्यसमितिको आपतकालीन बैठकले वीर बहादुर खड्काको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्