तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले वीरगन्जमा यही ज्येष्ठ २८ गते बेवारिसे अवस्थामा फेला परेको अन्दाजी २५ वर्षीय पुरुष र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएका बारा निजगढका ५ वर्षीय बालकमा सङ्क्रमण पुष्टि भएपछि मृतकको सङ्ख्या १८ पुगेको जानकारी दिनुभयो ।

यसै गरी आज थप दुई सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३५ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका चार जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा रौतहटका ४४ जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा मोरङका चार जना र झापाका एक जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका छ जना र बाराका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका चार जना र नवलपरासी पश्चिमका एक जना, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३० जना र सुर्खेतका ४० जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका पाँच जना र दाङका दुई जना, भेरी अस्पताल बाँकेमा रोल्पाका १७ जना, बाँकेका १८ जना, बर्दियाका छ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जनाकारी दिनुभयो ।

यसै गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका एक जना र सर्लाहीका दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई जना, कपिलवस्तुका २० जना, र रुपन्देहीका २८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ४८ जना र सर्लाहीका ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म ७२ जिल्लाका चार हजार नौ सय ४९ जना पुरुष र तीन सय ८६ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप ३६ जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल सङ्ख्या नौ सय १३ पुगेको छ ।

आज नारायणी अस्पताल वीरगन्जबाट पाँच जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, आइसोलेसन सेन्टर डुडुवा बाँकेबाट आठ जना र भरतपुर अस्पताल चितवनबाट छ जना कोरोना मुक्त भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जनकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आज कोरोना मुक्त हुनेहरूमा सबै जना पुरुष रहेका छन् भने हालसम्म जम्मा आठ सय २२ जना पुरुष र ९१ जना महिला कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

देशका विभिन्न प्रयोगशालाहरूमा गरी हालसम्म जम्मा एक लाख २७ हजार दुई सय ८८ जनाको पिसीआर तथा एक लाख ९० हजार पाँच सय ८२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार छ सय ६१ जनाको पिसीआर तथा दुई हजार पाँच सय ३० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्र गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button