तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन प्रभाव : अन्य बिरामीको सहारा बन्दै मेची उद्योग वाणिज्य सङ्घ

भद्रपुर, झापा । कोभिड–१९ को रोकथामका लागि देशमा सरकारले गरेको लकडाउनका कारण औषधिको अभाव झेलिरहेका अन्य खाले बिरामीका लागि झापाको मेची उद्योग वाणिज्य सङ्घ सहारा बन्दै आएको छ ।

भारतका विभिन्न कम्पनीका कम्पोजिसन मिलाएर खाने औषधिका बिरामीहरूलाई लकडाउनले अप्ठ्यारोमा पारेको अवस्थालाई मध्यनजर गर्दै सङ्घले त्यस्ता बिरामीको औषधि ल्याइदिने जिम्मेवारी बहन गरिरहेको छ ।

मेची उद्योग वाणिज्य सङ्घ धुलाबारीले मुटु, मिर्गौला, क्यान्सरलगायतका दीर्घ रोगका बिरामीहरूलाई औषधि सहजरुपमा उपलब्ध गराउन भारतका सरोकारवालासँग समन्वय गरेको छ ।

लकडाउन सुरु भएको १५ दिनपछिदेखि नै सङ्घले गम्भीर प्रकृतिका बिरामीलाई औषधीय सेवा पुर्‍याउन सुरु गरेको सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो । अहिलेसम्म एक हजारभन्दा बढी बिरामीको औषधि ल्याइदिएको उहाँले जानकारी दिनुभयो ।

कम्पोजिसन मिलाएका भारतीय औषधिको माग गर्ने नेपालीहरूमा झापालगायत काठमाडौँ, पोखरा, धनकुटा, इटहरी, इलामका छन् । दैनिक १० जनाभन्दा बढीले औषधिका लागि सङ्घको कार्यालयमा फोन गर्ने गरेको सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतले बताउनुभयो ।

भारत पानी ट्याङ्कीका फर्मासिस्टमार्फत सिली गुडी लगायतका ठाउँबाट औषधिहरू मगाएर मेचीपूलमा ल्याइएपछि सङ्घका पदाधिकारी त्यहाँ पुगेर सुरक्षितसाथ औषधि ल्याउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button