तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रकोप कोषमा पटेर्वासुगौली गाउँपालिकाद्वारा २५ लाख हस्तान्तरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप ब्यवस्थापन कोषमा आज पटेर्वासुगौली गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको छ ।

पटेर्वासुगौली गाउँ पालिकाका अध्यक्ष हरिनारायण चौधरीले कोविड विरुद्ध वीरगञ्ज महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न २५ लाख रुपियाँको चेक वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भयो ।

गत जेठ ६ गते वीरगञ्जको नगरसभागृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, पर्साका १४ वटा पालिकाका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थितिमा भएको बैठकले पर्साका सबै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगायत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भए अनुसार नै पटेर्वासुगौला गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले वताउनु भयो ।

वीरगञ्ज महानगरपालिकाले पिसिआर मेशिन, भिटिएम किट, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोविड अस्पताल संचालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र उद्योगी व्यवसायि तथा विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो ।

महानगरको अपिल अनुसार आज महाविर मन्दीर समितिको तर्फबाट एक लाख एघार हजार, ग्लोवल आइएमई बैक वीरगञ्ज शाखाको तर्फबाट एक लाख, पिसि मिडिया नेटर्वकको तर्फबाट २५ हजार नगद, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वर्णवालबाट ५ हजार दुई सय पचास प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त कोषमा वीरगञ्ज महानगरपालिकाले एक करोड जम्मा गरी सकेको छ भने हाल सम्म उक्त कोषमा एक करोड ५६ लाख ७५ हजार जम्मा भैसकेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button