तपाईँ सुन्दै हुनुहुन्छः

किसानका समस्या बुझ्न कृषि प्राविधिक फिल्डमा

पर्वत । कोरोनाको विश्वव्यापी महामारी र मौसमको मारमा परेका किसानहरुको समस्या बुझ्न कृषि ज्ञान केन्द्रले स्थलगत अनुगमन शुरु गरेको छ ।

पर्वत र बागलुङमा कोरोनाले कृषकले भोगेका समस्या र मौसमले गरेको क्षतिबारे कृषि ज्ञान केन्द्रका प्रमुख सहित प्राविधिक कर्मचारीहरु कृषकका खेतबारीमै पुगेका छन् । कोरोनाको त्रासमा रहेका किसानहरुलाई हौसला दिन, बजारीकरण, मल, बीउ ढुवानी, रोगकिराको समस्या बुझ्न र कृषकहरुले तयार पारेका मोडल फर्महरुको अवस्था बुझन अनुगमन शुरु गरिएको ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

पर्वत र बागलुङ जिल्लामा छुट्टाछुट्टै टोली बनाएर अनुगमन शुरु गरिएको छ । कार्यालय प्रमुख बासुदेव रेग्मी सहित प्राविधिकहरुले पर्वतका ७ वटै पालिका र बागलुङका १० वटा पालिकाका प्रत्येक किसानको घरमा पुगेर खेतीवालीको समस्या संकलन गर्न शुरु गरेका जानकारी दिईएको छ । असिनापानीले खुल्ला रुपमा गरिएको मकै, गहुँ, तरकारी र सुन्तलाजातका फलफुल, आँपका फुल झारेर किसान समस्यामा रहेको रेग्मीले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिका ११ पकुवामा मंगलबार अनुगमन गर्दा अधिकांश किसानहरुले प्लाष्टिक घरभित्र लगाएका गोलभेँडामा टुट्टा किराको आक्रमण र डडुवा रोग लागेको देखिएको रेग्मीले बताउनुभयो । निरन्तर रुपमा वर्षा भैरहनु र तापक्रम सन्तुलन नहुँदा रोगको प्रकोप बढ्दै गएको छ । किसानलाई समस्या समाधानका उपायहरुको बारेमा सुझाव दिईएको रेग्मीले बताए ।

पकुवामा गोबिन्द पौडेल, विश्व जोशी, किशोर रिमाल, सूर्यबहादुर केसी, डिल्लीराम पौडेल, गणेश पौडेल, दिपेन्द्र क्षेत्री लगायत दर्जन बढि यूवाले गरेको व्यवसायीक कृषि फर्महरुको अनुगमन गरिएको थियो ।

कोरोनाको त्रासका कारण गरिएको लकडाउनले उत्पादित तरकारी ढुवानी गर्न र बजारमा पुगेर मल, किटनाशक विषादी ल्याउन समस्या भैरहेको किसानहरुले गुनासो गरे । रेग्मीले बजार सम्म सामान ढुवानी गर्न प्रसासनले सहजीकरण गरिरहेको र मल, वीउ, विषादी खरिद गर्न एग्रोभेटहरु खुल्ला रहेको अवगत गराउनुभयो ।

बागलुङको बरेङ गाउँपालिकामा आईतबार र सोमबार अनुगमन गरिएको थियो । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार पर्वतको जलजला र मोदी गाउँपालिकामा पनि प्राविधिकहरु गाउँगाउँमै पुगेर अनुगमन शुरु गरेका छन् ।

यस्तै कार्यालयले असिनापानीले वैशाख महिनामा पुर्याएको क्षतिका बारेमा अनुगमन गरि क्षतिपुर्तीको सिफारिस गरिसकेको कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार पर्वतमा २ करोड १५ लाख तथा बागलुङमा २ करोड १९ लाख बराबरको क्षति भएको थियो ।

कोरोनाले अब गाउँमा रमाउन र बाँझो खेतमा खेतीपाती गर्ने पाठ सिकाएको अगुवा किसानहरु बताउँछन् । किसानहरुले राज्यले कृषिलाई बढी प्राथमिकतामा राखेर अवको नीति तथा कार्यक्रम बनाउन माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button