तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा सुविधा पु-याउन धौधौ   

जाजरकोट – बारेकोट गाउँपालिका–४ की वडाध्यक्ष सिर्जना बस्नेतलाई ५४ स्थानीयवासी रहेको वडाको क्वारेन्टाइन व्यवस्थापन गर्न अहिले हम्मेहम्मे परेको छ ।

क्वारेन्टाइनमा बसेका सबैले इन्टरनेट, टिभी र पौष्टिकयुक्त खाना माग गरेपछि अध्यक्ष बस्नेतलाई हैरान भएको छ । वर्षेनी खाद्यान्न अभाव हुने वडामा दैनिक सामान्य खानासमेत पाउन मुस्किल छ । सोही वडामा विश्व मापदण्डअनुसारको व्यवस्था खोजिएपछि जनप्रतिनिधिलाई कठिनाइ भएको छ । भौगोलिक विकटता, तोकिएका सामग्री नपाउँदा व्यवस्थापनमा समस्या भएको हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले क्वारेन्टाइनमा बसेका सबैले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सुविधा खोजेपछि सो व्यवस्थापन गर्न स्थानीय सरकारलाई गाह्रो भएको बताउनुभयो ।

मोबाइल टावरसम्म नभएको बारेकोटमा टिभी, इन्टरनेट खोजेपछि सबै जनप्रतिनिधि हैरान भएका छन् । क्वारेन्टाइनमा बसेका सबैलाई खानासमेत पु¥याउन निकै मुस्किल भएको गाउँपालिकाले जनाएको छ । खाद्यान्न सङ्कट व्यहोरिरहेको बारेकोट गाउँपालिकामा क्वारेन्टाइनमा खाद्यान्न लिनसमेत समस्या हुँदै आएको छ ।

नलगाड नगरपालिकामा ५०० भन्दा बढी मानिस बाहिरबाट आएका कारण व्यवस्थापनमा समस्या भएको छ । जिल्लामा पहिलो चरणमा ३०० र दोस्रो चरणमा २०० आरडिटी किट आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । जिल्लामा दुई हजारभन्दा बढी मानिस आएका कारण सबैलाई किटको अभावमा परीक्षण गर्न सकिएको छैन । जिल्लामा अहिलेसम्म ३०० मानिसलाई मात्र दु्रत परीक्षण गरिएको छ ।

बारेकोट गाउँपालिका–१ कालिका आर्दश माविको क्वारेन्टाइनमा बस्नुभएका प्रेमकला बोहोराले आफूहरुलाई कैदीको आँखाले हेरेर व्यवहार गरिएको गुनासो गर्नुभयो ।

बारेकोट गाउँपालिकामा मात्र १६७ क्वारेन्टाइनमा छन् । जनप्रतिनिधिले समेत क्वारेन्टाइनको महत्व सर्वसाधारणलाई बुझाउन नसक्दा समस्या चुलिएको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा पुगेर सामाजिक दूरी कायम गरेर प्रशिक्षण दिए पनि सबै गाउँमा सबै ठाउँमा सूचना प्रवाह नहुँदा बुझाइमा समस्या देखिएको छ । मिडियाको पहुँच सबै ठाउँमा नहुँदा सूचना प्रवाह हुनसकेको छैन ।

एक गाउँबाट अर्को गाउँमा जानका लागि एक दिन नै लाग्ने भएकाले सूचनार जनचेतना फैलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button