तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दी र फ्रेन्ड्सबीचको खेल बराबरीमा सम्पन्न

अजय बम । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभजिन लिगको चौथो चरणमा पुगेर रोकिएको छ ।

अघिल्ला तीन खेल जितेको मनाङ सोमबार फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पनि मनाङको खातामा १० अंक पुगेको छ । फ्रेन्ड्सले लिगमा पहिलो अंक जोडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उमेश राईको गोलबाट फ्रेन्ड्सले खेलमा बराबरी गरेको थियो ।

पहिलो हाफमा फरवार्ड रञ्जन विष्टले गोल गरेपछि मनाङलाई अग्रता दिलाएका थिए । दुवै टोलीले केहि मौका पाएपनि सफल हुन सकेनन् ।

अर्को खेलमा भने मच्छिन्द्र क्लवले अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले एनआरटी बिरूद्ध एक शुन्यको जित निकाल्यो । जारी लिगमा उसको यो तेस्रो जित हो ।

दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको उद्घाटनको तयारी भइरहेका बेला एन्फाले चौथो चरणका खेलहरु सातदोबाटो स्थित मैदानमा गरेको हो । जसमा मच्छिन्द्रले अन्तिम समयमा गोल गर्दै तीन अंक बटुल्यो ।

मच्छिन्द्रका लागि विदेशी खेलाडी सोमीडीले गोल गरे । यो जितपछि मच्छिन्द्रको चार खेलमा ९ अंक भएको छ । यसका साथै मच्छिन्द्र लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button