तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग   

रियो डि जानेरो –  ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ ।  संघीय प्रहरीले उहाँलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति कार्यालय छोडेपछि उहाँले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् उहाँले भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।

प्रहरीकाअनुसार सन् २०१३ को डिसेम्बर देखि २०१४ को मार्चसम्ममा त्यस संस्थामा जम्मा गरिएको रकमका बारेमा प्रहरीले आशंङ्का गरेको हो ।

लुलाको संस्थाका प्रमुख पाउलो ओकामोटो र पूर्व अर्थ मन्त्री एन्टोनीयो पालोस्सीलाई पनि भ्रष्टाचार र मुद्रा अपचनल सम्वन्धी अभियोग लगाइएको छ । लुलाको राष्ट्रपतिको कार्यकाल सकिएपछिको विषयलाई लिएर अभियोग लगाउनु पूर्वाग्रहपूर्ण भएको लुलाका वकिलहरुले बताएका छन् । लुलाको पछिल्लो राष्ट्रपतिय कार्यकाल सन् २०१० मा सकिएको थियो ।

लुलाको कारोबार सामान्य र नियमित नै देखिने र कुनै अस्वभाविक नदेखिने उहाँका वकिलहरुको भनाई छ ।  यसअघि अर्कै अभियोगमा दोषी ठहर भएर कारागार पठाइएका लुला केही महिना अगाडी मात्रै जेलमुक्त हुनुभएको थियो ।

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उहाँले जेलजीवन बिताउनु भएको थियो ।
वर्कर्स पार्टीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो ।

ब्राजिलमा एउटा मुद्दामा तीनपटकसम्म पुनरावेदन गर्न पाउने नयाँ व्यवस्थाका कारण पुनरावेदनका लागि निवेदन दिएकोले सो मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उहाँ थुनामुक्त हुनुभएको हो ।

पूर्व राष्ट्रपति लुलाले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न आरोप र अभियोगहरु लगाइएको भन्दै आरोपको खण्डन गर्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button