तपाईँ सुन्दै हुनुहुन्छः

रसुवामा पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारी

रसुवा-नेपाल भ्रमण वर्षको अवसरमा घुमफिरका लागि उपयुुक्त स्थानको पहिचान र व्यवस्थापकीय काममा पर्यटक व्यवसायी अगाडि बढेका छन् । रसुवा, नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित लाङटाङ, तथा पवित्र तीर्थ गोसाइँकुण्डका अतिरिक्त पश्चिमी रसुवाको गणेश हिमाल, पार्वतीकुण्डसमेत आउने पर्यटकका लागि खाने–बस्ने व्यवस्थापन गर्न व्यवसायी अग्रसर भइरहेका छन् ।

दक्षिणी भेगमा भने बेत्रावतीको उत्तरगयाधाम, ठूलोगाउँको भुमेस्थान, कालिकास्थान, जिवजिवेको नीलकण्ठ महादेवस्थान, मानेश्वारा, यार्साको लारच्याङ्टार, सरमथलीको निर्कुभुमेजस्ता स्थान समेत पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको र त्यस क्षेत्रका व्यवसायीसमेत भ्रमण वर्ष सफल पार्न अगाडि बढिरहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत घुम्न आउने पर्यटकलाई खानेबस्ने यथेष्ट व्यवस्थापनका लागि सबै पर्यटन व्यवसायीले आ–आफूले सञ्चालन गरेका लज तथा होटलको सुदृढीकरणसमेत गरिसकेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो । ऋण गरेर भए पनि होटल तथा लज सुदृढीकरण र गाउँ–गाउँमा घरवाससमेत सञ्चालन भइरहेको छ ।

घरवासको सुविधा भने बृद्धिम एवं गतलाङ क्षेत्रमा रहेको गतलाङका पर्यटन व्यवसायी फुर्पुसिङ्गी तामाङले बताउनुभयो । रसुवा प्रवेशद्वार बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे, भार्खु, ठूलोस्याफ्रु, चन्दनबारी, लौरी विनायक, गोसाइँकुण्ड, स्याफ्रुबेँसी, खाम्जिङ, लामाहोटल, थाङसाप, लाङटाङ, मुण्डू तथा क्याङजेन पर्यटकीय क्षेत्र पुरानो पदमार्ग भए पनि युग परिवर्तनसँगै स्याफ्रुबेँसीसम्म यातायात सेवा सञ्चालन भएकाले हिमाली छटा अवलोकन गर्न जाने पर्यटकले स्याफ्रुबेँसीबाट पदयात्राको शुरुआत गर्ने गरेका छन् ।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक रसुवा भित्रिने अपेक्षा गरिएको बताउँदै स्याफ्रुबेँसीका पर्यटन व्यवसायी ल्हाक्पागोम्वो तामाङले पाहुनाको स्वागतका लागि स्थानीय व्यवसायी तयार रहेको जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्षमा आउने पर्यटकमाझ भोजनका लागि स्थानीय जातका फापर, मकै, कोदोको पिठोबाट तयार भएको ढिँडो एवं रोटी, गोल्जुङको लेकाली चामलबाट पकाइएको भात, सिस्नु तथा कालो मुसुरको दाल, सिमी तथा डल्लेमुला, आलुजस्ता तरकारी, स्थानीय चिसोपानीमा उत्पादित ट्राउट माछासमेतका चिज उपयोग गरिने व्यवसायी तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button