तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवद्र्धनका चरीकोटमा किवि महोत्सव

दोलखा । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा भीमेश्वर नगरपालिकाले किवि महोत्सवको आयोजना गर्ने भएको छ । नेपालमै पहिलो पटक दोलखाबाट पहिचान र व्यवसायीक उत्पादन सुरु भएको किवि फलको प्रवद्र्धनको लागि भीमेश्वर नगरपालिकाले भ्रमण बर्ष २०२० को पहिलो दिन जनवरी १ मा किवि महोत्सव को आयोजना गर्ने भएको हो ।

लामोसाँगु जिरी सडक निर्माणको क्रममा इन्जिनियरको काम गर्न २०४३ सालतिर दोलखा आएका स्वीस नागरिक जेएफ मेस्सीले आफु बसेको चरिकोट स्थित श्याम खड्काको घरमा किवि फल रोपेका थिए । २०५८/०५९ सालतिर श्याम खड्काले मेस्सीले रोपेको बिरुवामा फलेको ५२ किलो किवि फल पहिलो पटक काठमाडौँको कालिमाटीमा लगेर १० हजारमा बिक्रि गरेका थिए । त्यसपछि व्यवसायीक उत्पादन सुरु गरिएको किवि फलको खेती अहिले देशको विभिन्न पहाडी तथा हिमाली जिल्लामा समेत विस्तार भएको छ ।

दोलखाको चरिकोटबाट देशमै पहिलो पटक किवि फलको पहिचान र व्यवसायीक उत्पादन सुरु भएकोले यसको प्रवद्धनको लागि भीमेश्वर नगरपालिकाले सन् २०२० जनवरी १ को दिन सदरमुकाम चरिकोटमा किवि महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख भरत केसीले बताउनुभयो । एक सातासम्म चल्ने किवि महोत्सवको अवसरमा किवि फलको स्टल राखिने, किविको उपयोगीता, उत्पादनको अवस्था आदिको बारेमा चर्चा गरिने, अन्य घरेलु उत्पादनका सामानहरु राखिने, सुन्तला लगायत दोलखामा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल राखिने र स्टी«ट फेस्टीबलको समेत आयोजना गरिने नगरप्रमुख केसीले बताउनुभयो ।

महोत्सवको अवधिभर सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकीहरु, राष्ट्रिय खेलाडिहरुको सम्मान लगायतका कार्यक्रम समेत सञ्चालन हुने नगरप्रमुख केसीले बताउनुभयो । किवि महोत्सवको अवधिमा दोलखा आउने पर्यटकहरुलाई चरिकोटको होटलहरुमा आवासको लागि २५ प्रतिशत र खाना, खाजाको लागि १५ प्रतिशत सम्म छुटको समेत व्यवस्था गरिएको नगरप्रमुख केसीले बताउनुभयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले किवि महोत्सवमा जिल्लाको अन्य स्थानिय तह र संघ संस्थाको समेत सक्रिय सहभागिता रहने उल्लेख गर्नुहुदै भ्रमण बर्ष २०२० को पहिलो दिनको किवि महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

यो बर्ष दोलखा जिल्लाबाट किवि फल चार करोड भन्दा बढीको बिक्रि वितरण हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाका बरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले बताउनुभयो ।

किवि फललाई तीन ग्रेडमा बिभाजन गरेको पाईन्छ । एक सय ग्राम भन्दा बढीको किवि ए ग्रेड, ७० ग्रामसम्मको किवि बि ग्रेड र ६० ग्राम भन्दा कम तौलको किवि सि ग्रेडमा बिभाजन गरिएको बरिष्ठ कृषि विकास अधिकृत खतिवडाले बताउनु भयो । दोलखामा मोन्टी, एलिसन, हेर्वाड लगायतका जातको किवि फल उत्पादन हुने गरेको खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button