तपाईँ सुन्दै हुनुहुन्छः

सिमेन्टको पुरानै गुणस्तर कायम गर्न निर्देशन

काठमाडौं ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०५५ साल जेठ ५ गते निर्धारण गरिएको ओपिसी सिमेन्टको गुणस्तर मापदण्ड नै कायम गर्न निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले गत असार १८ गते ‘नेपाल गुणस्तर परिषद्’बाट निर्धारण गरिएको नयाँ मापदण्डले सिमेन्टको गुणस्तरीयता कायम नहुने निष्कर्षसहित त्यस्तो निर्देशन दिएको हो ।

सिमेन्टको पुरानो मापदण्डअनुसार रसायनिक आवश्यकता इन्सोलुबल रेसिडियु (आईआर) को मात्रा दुई प्रतिशत र म्याग्नेसियुम ओक्सिड (एमजिओ) को मात्रा पाँच प्रतिशत रहेकोमा नयाँ मापदण्डमा आईआरलाई चार प्रतिशत र एमजिओलाई छ प्रतिशत पुर्याइएको छ ।

समितिले यस अघि गरेको छलफलमा सम्बन्धित क्षेत्रका विज्ञहरुले ओपिसी सिमेन्टमा आईआर र एमजिओको मात्रा जति बढायो उति गुणस्तर कमजोर हुने सुझाव दिएका थिए ।
बैठकमा समितिका सभापति भरतकुमार शाहले व्यक्तिका निजी घर, सार्वजनिक तथा निजी पूर्वाधारमा प्रयोग हुने सिमेन्टको गुणस्तरमा कुनै सम्झौता नगर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

सांसदहरुले सिमेन्टको गुणस्तरको मापदण्ड मानवीय संवेदनशीलतासँग जोडिएको बताउँदै नयाँ मापदण्ड लागु गर्नुपर्ने औचित्यका बारेमा सम्बन्धित निकायका पदाधिकारीसँग प्रश्न गर्नुभएको थियो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उत्पादनमा सहजीकरण गर्न नयाँ मापदण्ड बनाएको जनाएको छ ।

बैठकमा उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नेपालमा सिमेन्टको गुणस्तरका बारेमा जानकारी गराउँदै गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको थियो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको नयाँ मापदण्डले गुणस्तर नघटाएको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button