तपाईँ सुन्दै हुनुहुन्छः

‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण

अर्घाखाँची-सन्धिखर्क नगरपालिका–१२ डिर्भनाले ‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण कार्यक्रमको शुरुआत गरेको छ । गर्भवती र सुत्केरीलाई थप पोषिलो खाना खुवाउन पोषण सामग्री वितरण शुरुआत गरिएको वडाध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो । पहिलोपटक गर्भ जाँच गर्नेलाई अण्डा र हरियो झण्डा, दोस्रो र तेस्रो पटक जाँच गर्नेलाई एक क्यारेट अण्डा, एक÷एक किलो चना र केराउ वितरण गरिएको छ ।

वडा कार्यालयबाट पोषण प्राप्त हुने सामग्रीको वितरण गरेपछि गर्भवती हुने महिलामा चेतना अभिवृद्धि हुनेसँगै पोषणको मात्रा पनि पूरा हुने भएकाले पोषण कार्यक्रम शुरुआत गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाका नगरप्रमुख कमल भुसालले मानिसको सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकाले नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडि बढेको बताउनुभयो ।

वडामा रहेका सबै गर्भ परीक्षण गराएका महिला, सुत्केरी महिलालाई पोषण सामग्री वडाले वितरण गर्नेछ । उपप्रमुख ठाकुर विकले वितरण गरिएको पोषणबाट थप केही कुरा सिक्दै नियमितरुपमा शरीरलाई पोषणको मात्रा बढी चाहिने हुनाले पालना गर्नका लागि गर्भवती तथा सुत्केरी महिलालाई आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्भवती रहँदा तथा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यलाई स्वस्थ राख्न निकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रमअन्तर्गत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीले सहजीकरण गरेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेललगायतले पोषणको महत्व माथि चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button