तपाईँ सुन्दै हुनुहुन्छः

विपद् पहिचानको नक्सा बनाउँदै कामपा

काठमाडौंँ-काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ ।

नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले काठमाडौँ जोखिमपूर्ण मानिएको छ । विपद्का घटनालाई आधारमानी जोखिमको उपाय अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक विपद्को दृष्टिकोणले जोखिम रहेको छ । क्षति न्यूनीकरणका लागि वडास्तरीय प्रशिक्षणको काम भइरहेको छ ।” कामपाले वडा २१, ७ र १२ मा विपद् व्यवस्थापनको लागि वडावासीलाई तालीमको व्यवस्था गरिसकेको जनाएको छ । बाँकी वडामा गर्ने तयारी रहेको रहेको छ ।

विपद्को समाधान गर्न ३२ वटै वडामा वडास्तरीय समिति पनि चयन गरेको छ । ती समिति नौ सदस्य रहने व्यवस्था गरिएको छ । समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडासदस्य रहने व्यवस्था छ । हरेक वडामा २५ देखि ४० जनासम्म स्वयंसेवक रहन सक्ने व्यवस्था गरिएको छ । समितिले कामपा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ अनुरुप काम गर्नेछ ।

आगलागीका घटना नियन्त्रणका लागि दमकल खरीद र दमकल स्टेशन निर्माण कार्य भइरहेको छ । भूकम्पीय क्षति कम गर्नका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण जोड दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button