तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थको तस्करीमा बृद्धि

बीरगंज । विगत केहि समय यतादेखि पर्साको ग्रामीण क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको तस्करीमा बृद्धि भएको छ । भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएका कारण तस्करी बढेको हो ।

नेपाली तथा भारतीय तस्कर समूहले दैनिक हजारौं लिटर पेट्रोल र डिजेल भारतीय बजारसम्म पुर्याउने गरेका छन् । विशेष गरी पर्साको ग्रामिण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट तस्करहरुले भिस्वा, जानकीटोला, दशौता, पाडेपुर, पिडारीगुठी, महादेव पट्टी, सुवर्णपुर, बिजयबस्तीका नाका भएर इन्धन भारतीय बजार धुमाटाड, भंगहा, इनर्वा, मैनाटाड तथा सिकटा सम्म पुग्ने गरेको छ ।

तस्करहरुले साइकल, मोटर साइकल तथा ट्याक्टरमा इन्धन भरिएका ड्रम तथा गिलेन भारतसम्म पुर्याउने गरेका पाइएको छ । कतिपय तस्करहरुले मोटरसाइकलको ट्याकीं र ढिकीमा पेट्रोल भरी भारत लैजाने गरेका स्थानियले बताएका छन ।

नेपाली बजारमा पेट्रोल प्रति लिटर १ सय ८ रुपैया र डिजेल प्रति लिटर ९६ रुपैया रहेको छ । उता भारतीय बजारमा पेट्रोल प्रति लिटर नेपाली १३० र डिजेल प्रति लिटर नेपाली ११५ रुपैया पर्ने गर्दछ ।

पेट्रोलको मूल्य २२ रुपैया प्रति लिटर र डिजेलको मूल्य १९ रुपैया नेपालमा सस्तो पर्ने भएपछि सिमावर्ती भारतीय बजारमा इन्धनको तस्करी हुने गरेको स्थानिय वासिन्दाले बताएका छन् ।

सिमावर्ती नाकाहरुमा बस्ने सुरक्षाकर्मीले विशेष सतकर्ता नअपनाउँदा नेपालबाट भारत तर्फ इन्धन तस्करी बढेको गुनासो आएपछि यस तर्फ सुरक्षाकर्मीलाई सचेत बनाईएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताउनुभयो । उहाँले तस्करीका लागि इन्धन उपलब्ध गराउने पेट्रोल पम्पहरुलाई समेत कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button