तपाईँ सुन्दै हुनुहुन्छः

महतोको बाहिर निक्लिने सपना पूरा

सप्तरीको राजविराज नगरपालिका–१ का विन्देश्वर महतोको घरबाट बाहिर निक्लिने सपना मङ्गलबार साकार भएको छ । पक्षघातका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि घरमै थन्किनुभएका ६५ वर्षीय महतोको बाहिर घुम्ने सपना ह्विल चियर पाएपछि पूरा भएको हो । ‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ मूल नारासहित २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा राजविराजमा आयोजित एक कार्यक्रममा महतोले ह्विल चियर पाउनुभएको हो ।

अपाङ्गता भई कष्टकर जीवन बिताइरहेकाहरूको हकअधिकारका लागि काम गरिरहेको समावेशी अपाङ्ग सङ्घ, बौद्धिक अपाङ्गता अभिभावक सङ्घ र बहिरा सङ्घले महतोलाई ह्विल चियर वितरण गरेको हो ।

सप्तरीको राजविराजसहित तिरहुत र रुपनी गाउँपालिकामा करिब २०० अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सङ्घसंस्थाले सामग्री वितरण गरेको छ । राजविराजमा नौजना दृष्टिविहीन बालबालिकालाई झोलासहितको शैक्षिक सामग्री वितरण गरिएको छ ।

सगरमाथा अपाङ्ग कल्याण सङ्घको आयोजना एवं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको संयोजनमा राजविराजमा आयोजित कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल, स्टिलको थाल र गिलास वितरण गरिएको छ ।

त्यसअघि राजविराजस्थित महादेव मन्दिरबाट शुरु भएको प्रभातफेरीले राजविराज नगर परिक्रमा ग¥यो । सगरमाथा अपाङ्ग कल्याण सङ्घ, राजविराजको प्राङ्गणमा पुगेर सभामा परिणत भएको कार्यक्रममा इञ्जिनीयर सूर्यनारायण यादवले विभेद र सामाजिक अवरोधले क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा परिवर्तन ल्याउन सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले हात चल्नेले हात चलाएर, मस्तिष्क चल्नेले मस्तिष्क चलाएर आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ होइन उदाहरणीय व्यक्ति बन्नुपर्ने बताउनुभयो । भगतका अनुसार तिरहुत गाउँपालिकामा ८१ अपाङ्ता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेको राष्ट्रसङ्घीय विभिन्न प्रावधानकै सन्दर्भमा डिसेम्बर ३ लाई नेपालले महत्वका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button