तपाईँ सुन्दै हुनुहुन्छः

३ सरकारी बैंकद्वारा सहुलियत कर्जाबारे संयुक्त समझदारी

भुवनप्रसाद आचार्य । युवाहरुलाई सहुलियतमा कर्जा प्रवाह गरी मुलुकमा उद्यमशिलताको विकासमा सहयोग गर्ने उद्देश्यले बुधबार राष्ट्रिय युवा परिषद् र ३ सरकारी बैंकहरूले सहुलियत कर्जा प्रवाह सम्बन्धमा संयुक्त समझदारी गरेका छन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरूलाई बैंकबाट सहुलियतको कर्जा लिएर उद्यमी बन्ने गरी जागरुक हुन आग्रह गर्नु भएको छ ।

बुधबार राष्ट्रिय युवा परिषद् र ३ सरकारी बैंकहरूले सहुलियत कर्जा प्रवाह सम्बन्धमा संयुक्त समझदारी गर्न आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालको विकास र आर्थिक अवस्थालाई माथि उठाउन युवाहरूले जोखिम उठाएरै बैंकबाट सहुलियतको कर्जा लिएर उद्यमी बन्नु आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले युवाहरूलाई सरकारले स्वरोजगारका लागि हाल स्कुल स्तरबाट नै व्यव्सायिक सीप विकास र व्यसायिक शिक्षा कक्षा सञ्चालनमा सरकारले धेरै लगानी गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूले सहुलियतका कर्जा वितरण गर्ने योजना अघि सारेको भए पनि कर्जा माग गर्न युवा नै नआएको बताउनु भयो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिनु भयो ।

कार्यक्रममा सहुलियत ऋण प्रवाह सम्बन्धी समझदारीमा सरकारी लगानीका ३ बैंकहरु कृषि विकास बैंक, नेपाल बैंक,राष्ट्रिय बाणिज्य बैंक तथा राष्ट्रिय युवा परिषदको तर्फबाट हस्ताक्षर गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button