तपाईँ सुन्दै हुनुहुन्छः

बरियारपुर–बीरगंज हुलाकी सडक– तोकिएको समयभन्दा करिब ८ महिनाअघि नै निर्माण सम्पन्न हुदैँ

बीरगंज – हुलाकी राजमार्ग आयोजना अन्तर्गत बारा जिल्लाको बरियारपुरदेखि बीरगंजको प्रतिमाचोकसम्मको सडक निर्माण तोकिएको अवधिभन्दा अगाडी नै सम्पन्न हुने भएको छ ।

स्थानीयको अवरोधका कारण एकआद स्थानमा बाहेक वीरगञ्जको प्रतिमाचोकदेखि बाराको बरियारपुरसम्म करीब २० किलोमीटर सडकअन्तर्गत अधिकांश खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । हुलाकी सडकको सो खण्डअन्तर्गत ८० प्रतिशत काम पूरा भईसकेको हुलाकी सडक परियोजना कार्यालय वीरगञ्जले जनाएको छ ।

आयोजनाले सन् २०१७ जनवरीमा सो खण्डको ठेक्का लगाएको थियो । ३० महिनाभित्र काम पूरा गर्ने गरी स्वच्छन्द, समा र पप्पु कन्स्ट्रक्सनले संयुक्तरुपमा ८५ करोड रुपैयाँमा ठेक्का लिएका थिए । यो सडकखण्ड निर्माणमा अवरोध नभएमा तोकिएको समयभन्दा करिब ८ महिनाअघि नै पूरा हुने देखिएको छ ।

सडक निर्माण भएसँगै अब यो बर्ष पञ्चवर्षीय गढिमाई मेलामा सहभागी भक्तजनहरुले धुले सडकको सामना गर्नु नपर्ने भएको छ ।

सडकमा डेढ मिटर माटो पुरेर त्यसमाथि कालोपत्रेसहित ७० सेन्टिमिटरको सतह बनाइएको छ । ७ मिटर फराकिलो कालोपत्रे, ३ मिटर फुटपाथ र २ मिटरमा नाला निर्माण भएको समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलमले बताउनुभयो । सो सडक खण्डमा एसियामै प्रसिद्ध धार्मिकस्थल गढीमाईसमेत पर्दछ ।

बर्षौदेखि स्तरीय सडकको अभावमा भक्तजनलाई आवतजावतमा समस्या भईरहेको बेला हुलाकी सडकको स्तरोन्नति भएपछि गढीमाई मन्दिरमा आउने आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्र्धनमासमेत योगदान पुग्ने स्थानीय बासिन्दाले बताएका छन् ।

गढीमाईमा प्रत्येक ५ वर्षमा मेला लाग्ने गर्दछ । यो वर्ष मंसिरमा मेला लाग्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button