तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय बारपछि हात्ती आतंक रोकियो

झापा।भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि चरिचरन क्षेत्रमै हात्ती खुम्चिन थालेका छन् ।

सरकारले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कचनकबलदेखि उत्तरी भाग बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो सौर्य विद्युत्को तारबार लगाउने कार्य गरिरहेको छ । त्यसमध्ये हालसम्म ४६ किलोमिटर लामो बार निर्माण भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार दक्षिण क्षेत्रको हल्दिबारीस्थित जलथल जङ्गलको वरिपरि २८ किलोमिटर लामो सौर्य विद्युत्को तारबार निर्माण भइसकेको र थप निर्माणकार्य जारी रहेको छ ।

यसैगरी, उत्तरतर्फ बाहुनडाँगीको तिरिङदेखि काँकडभिट्टासम्मको १८ किलोमिटर भागमा सौर्य विद्युतीय तारको बार विसं २०६६ मै सम्पन्न भइसकेको छ । वन मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजन गरेको रु छ करोड बजेटबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले उक्त विद्युतीय तारबार बनाएको हो । कोषले एक कम्पनीलाई दिएको ठेक्कामार्फत तारबारको काम भइरहेको छ । आगामी आवमा तारबारको सम्पूर्ण कार्य सम्पन्न भइसक्ने अनुमान छ ।

जिल्लाका पूर्वी भागका सबै नगरपालिका र गाउँपालिकामा जङ्गली हात्तीले वर्षौदेखि आतङ्क मच्चाउँदै स्थानीयवासीको ज्यानसमेत लिने गरेको छ । विगत दुई दशकमा ३९ भन्दा बढीले हात्तीको आक्रमणबाट जीवन गुमाइसकेका छन् भने दर्जनौँ हात्ती मारिएका छन् । भारतको आसामदेखि आउने हात्ती चरनका लागि सीमावर्ती बाहुनडाँगीबाट नेपाल पसेर कोशी टप्पुसम्म ओहोरदोहोर गर्दै आएका छन् । पुख््र्यौली चरिचरन क्षेत्र भएका कारण झापाको जङ्गलमा हात्तीले बासस्थानसमेत बनाउने गरेका छन् ।

जङ्गलमा खानेकुरा केही नभएपछि आहारका लागि तिनीहरु गाउँ पसेर अन्नबाली सखाप पार्ने गर्छन् भने मानिसमाथि आक्रमणसमेत गर्छन् । उत्तरी भेगमा पहिले नै तारबार गरिएपछि त्यतातिरका गाउँबस्तीमा हात्तीको आतङ्क निमिट्यान्नजस्तै भएको छ । तर, अहिले हात्ती आतङ्क दक्षिण झापातिर सरेको छ । हल्दिबारी–३ का वीरबहादुर गिरीले सौर्य विद्युतीय तारबार गरेपछि हात्तीको आतङ्क ह्वात्तै घटेको अनुभूति सुनाउनुभयो ।

झापाको सबैभन्दा ठूलो जङ्गल जलथलमा केही रैथानेसहित १३ हात्ती बस्ने गरेका छन् । त्यो समूहले कहिले यता र कहिले उता घुमेर गाउँमा आतङ्क मच्चाउने गरेको छ । अहिले हात्ती जङ्गलै जङ्गल हिँडेर उत्तर–दक्षिण ओहोरदोहोर गर्न थालेका स्थानीयवासी बताउँछन् । दक्षिणी भेगको कचनकबलदेखि बाह्रदशी, हल्दिबारी, भद्रपुर, विर्तामोड, अर्जुनधारा र बुद्धशान्ति हुँदै मेचीनगरको बाहुनडाँगीसम्म सौर्य विद्युत्को तारबार लगाउने सरकारी योजना छ । यो तारबारको काम सम्पन्न भएपछि हात्तीले गाउँ नपसी जङ्गलै जङ्गलको बाटो भएर भारतबाट नेपाल पस्ने र जलथलसम्म हिँडडुल गर्न सक्नेछन् । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button