तपाईँ सुन्दै हुनुहुन्छः

तिहार आउनै लाग्दा पाल्पाली ढाकाको कारोबारमा वृद्धि

पाल्पा ।  यति बेला तानसेनका ढाका पसलहरुमा उपहारको लागि टोपी, आस्कोट, दौरा सुरुवाल,टाई, व्याग र दिदी बहिनीको लागि पछ्यौरा साडी, कुर्ता सुरुवाल, ब्याग, पर्स, लगायतका उपहारका सरसमान किन्नेको भिड बड्दै गइरहेको छ ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिंदै गर्दा तानसेनमा पाल्पाली ढाकाको कारोबार बढ्दै गएको हो । तिहारमा दिदी बहिनीहरुले दाजुभाइलाई ढाकाका सामाग्री उपहार दिने प्रचलन छ ।

पाल्पा घुम्न आउने आन्तरीक तथा बाह्रय पर्यटकले ढाकाका सामाग्रीलाई उपहार र मायाको चिनोको रुपमा लैजाने चलन भएकाले पनि ढाकाको व्यवसाय दिनहुँ फस्टाउँदै गएको हो । उसोत उपभोक्ताहरुको चाहाना अनुसार ढाकाको सामानमा बिबिधिकरण भएपछि व्यापार बढेको व्यवसायीहरु बताउँछन् ।

तानसेनमा मात्र हाल करीब १९वटा ठुला ढाका उद्योग रहेका छन् भने जिल्ला भरी नै घरेलु तानबाट ढाका बुन्ने संख्यामा दिनहुँ बृद्धि भैरहेको छ । अहिलेसम्म घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा २४ वटा पाल्पाली ढाका कपडा उद्योग दर्ता भएका छन् । जसमध्ये १९ वटा ढाका कपडा उद्योग क्रियाशील अवस्थामा छन् भने करीब ५ हजार जनाले रोजगारी पाएका छन् । टिका र मालाको साथै शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा पाल्पाली ढाका मानिसको रोजाईमा पर्ने गरेको छ।

आफ्नो उद्योगमा हाल ४० जनाले रोजगार पाएको पौडेल ढाका पसल क्याम्पसरोड तानसेनका संचालक मनोज पौडेलले बताउनुभयो। ढाका बुन्ने कामदारहरुले मासिक ५ हजार देखि २५ हजार सम्म कमाइ हुने गरेको पौडेल बताउनुहुन्छ । २०१५ सालमा गणेशमान महर्जनको एउटा तानबाट शुरु भएको पाल्पाली ढाका अहिले देश तथा बिदेशमा पनि परिचित छ । पाल्पाली ढाका जस्तै यस्ता घरेलु उत्पादनको लागि सरकारको सहयोग योजना र लगानी पाएमा स्वदेशी उद्योग फस्टाउने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button