तपाईँ सुन्दै हुनुहुन्छः

करोड बढी मूल्यमा सन्दीप छनोट हुँदा गेल र मालिंगा परेनन्

काठमाडौं – इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्ट आइतबार सम्पन्न भएको छ ।

 

ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई ओभल इन्भिन्सिबल छनोट गरेको छ । उनलाई टोलीले दोस्रो राउन्डको दोस्रो छनोटका रुपमा टोलीमा समेटेको हो । प्रत्यक टोलीले अधिकतम ३ विदेशी खेलाडी मात्र अनुबन्ध गर्ने प्रावधान रहेको छ । ओभलको टोलीमा अनुबन्धित सन्दीपले आफ्नो मूल्य १ लाख पाउन्ड तोकेका थिए । उनीसँगै यस रकम समूहमा अष्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका मोहमद नाबी, न्युजिल्यान्डका केन विलियमसन र पाकिस्तानका मोहमद आमिर रहेका थिए । सन्दीपसँगै विदेशी खेलाडीका रुपमा ओभलबाट सुनिल नाराइन र फाबियान एलेन रहेका छन् । टोलीमा मार्की खेलाडी साम करन रहेका छन् ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । हरेक टोलीले आफ्नो स्थानीय मार्की खेलाडी यसअघि नै छनोट गरिसकेका थिए । आइतबार भएको ड्राफ्टमा राशिद खान पहिलो नाम रहेका थिए । उनलाई जो रुट मार्की रहेको ट्रेन्ट रकेट्सले टोलीमा सामेल गरेको थियो । अन्य मार्की खेलाडीमा जोफ्रा आर्चर साउथर्न ब्रेभ, बेन स्टोक्स नर्थर्न सुपरचार्जर्स, जोनी बेरस्टो वेल्स फायर, जोस बटलर म्यानचेस्टर ओरिजिनल्स, रोरी बर्न्स लन्डन स्पिरिट र क्रिस वोक्स बर्मीङ्घम फिनिक्समा रहेका छन् ।

प्रतियोगिताको ड्राफ्टमा ठूला नाम रहेका खेलाडीले आवेदन दिएपनि छनोट हुन भने सकेनन् । विश्व टि-२० क्रिकेटमा सनसनी मच्चाउँदै आएका विष्फोटक ब्याट्सम्यान क्रिस गेल कुनै टोलीमा परेनन् । यस्तै योरकर किङ लासिथ मलिंगा पनि छनोटमा पर्न सकेनन् । पाकिस्तानका ब्याट्सम्यान बाबर आजमलाई पनि कुनै टोलीले अनुबन्ध गरेनन् । दक्षिण अफ्रिकी बलर कागीसो रबाडा, बंगलादेशका शकिब अल हसन तथा वेस्ट इन्डिजका ड्वेन ब्राभो पनि छनोटमा अटाएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button