तपाईँ सुन्दै हुनुहुन्छः

बैंकको रकम हिनामिनामा ५६ विरुद्ध मुद्दा दायर

तुलसीपुर। तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक, कर्मचारी र खातावाल गरी ५६ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले दुई महीना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदारविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको हो ।

रु १७ करोड ९९ लाख ९० हजार हिनामिनामा संलग्नको ठूलो जालो रहेको प्रहरीले प्रमाण फेला पारेको छ । बैंक सञ्चालक समितिका छ जना समेतको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

वेष्टर्न बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ खिमबहादुर डिसीसहित सात जना कर्मचारी पनि रकम हिनामिनामा संलग्न देखिएको भन्दै मुद्दा दायर भएको छ । रकम हिनामिनामा अन्य ४३ जना खातावालाकोसमेत संलग्नता देखिएपछि उनीहरु विरुद्ध पनि मुद्दा दायर भएको छ ।
रकम अपचलनमा दोषी नरहेको भन्दै भदौ २७ गते पक्राउ परेका सूचना प्रविधि अधिकृत विनोद डिसी भने आज छुट्नुभएको छ । त्यसैयरी यसअघि निर्दोष देखिएर छुटेका वसन्त बुढाथोकी फेरि अनुसन्धानमा तानिएका थिए ।

बैंकका शाखा प्रमुख समीर बुढाथोकीसहित तीन जना कर्मचारी र आठ जना खातावाल व्यक्ति प्रहरी हिरासतमा छन् । अन्य ४५ जना पक्राउ परेका छैनन् । उनीहरुलाई अब म्यादी पक्राउ पूर्जी जारी हुने छ । वेष्टर्न बैंकको शाखा नारायणपुरले रु दुई लाखसम्म मात्रै लोन दिन पाउने अधिकार भएको तर शाखाबाट रु १७ करोड ९९ लाख ९० हजार बाहिरिएपछि रकम हिनामिनाको रहस्य खुलेको हो । वेष्टर्न बैंक साउन अन्तिम साता देबःविकास बैंकमा गाभिएलगत्तै घटना बाहिर आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button