तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणनाका लागि नमूना जनगणना गरिँदै

काठमाडौँ – केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना– २०७८ को लोगो तथा मुल नारा र नमुना जनगणनाको समयतालिका सार्वजनिक गरेको छ । आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेरो गणना,  मेरो सहभागिता भन्ने नाराका साथ २०७८ जेष्ठ २५ गते देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना गरिने विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रिय तथ्याङ्क विभागले आर्थिक तथा प्रशासनिक मापदण्ड तयार गरि स्वीकृतिका लागि प्रकृया अघि बढाएको छ । जनगणनाका लागि प्रयोग हुने प्रश्नावली तयार एवंं सुधारका लागि ती वटै तहका सरकार अन्तर्गतका निकायहरु, आदिबासी जनजाति महासंघ , अपांग महासंघ, विज्ञहरु लगायतका सरोकारवालासंग अन्तक्र्रिया गरि आवश्यक सुझाव संकलन र अन्य आवश्यक तयारीहरु भैरहेको विभागले जनाएको छ ।

विभागले जनगणनाको तयारी स्वरुप आगामी माघ १ गतेदेखि चैत्र ३० गतेसम्म गरी तिन महिना नमुना जनगणना गर्ने तयारी गरेकोछ । नमुना जनगणना अन्तर्गत प्रत्येक प्रदेशबाट अति दुर्गम र सुगम गरी २ वटा जिल्लाका दरले १४ जिल्लाका ५५ वटा वडाका ११ हजार ६ सय १० घरपरिवारमा गणना गरिने छ । मुल जनगणना विश्वसनिय, प्रभावकारी र सहज रुपमा तथ्य प्राप्त गर्न परिक्षणका रुपमा नमुना जनगणना हुने गरेको विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले बताउनुभयो ।

प्रत्येक १०/१० वर्षमा गरिने जनगणना २०७८ जेष्ठ २५ गतेदेखि असार ८ गतेसम्म १५ दिन गरिने छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले मेरो गणना, मेरो सहभागिता भन्ने मुल नाराका साथ गर्ने जनगणना अन्तर्गत करिब ७० लाख घरपरिवारमा पुग्ने पुग्ने प्रक्षेपण गरेको बताउनुभयो ।

१२आँै राष्ट्रिय जनगणना २०७८ का लागि ५४ हजार ४ सय १३ जना कर्मचारी खटिने छन् भने जनगणनाको तयारीका लागि ३६ करोड २७ लाख रुपैया छुटयाईएको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा वि.स. १९६८ देखि प्रत्येक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button