तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सामा धान भित्र्याउने चटारो

बीरगंज – बारा, पर्साका ग्रामिण क्षेत्रहरुमा अहिले किसानहरुलाई धान भित्र्याउने चटारो परेको छ । तर उत्पादित धानले उचित मूल्य नपाउँदा किसानहरू मारमा परेका छन ।

दैनिक उपभोग्य वस्तुको बजार भाउ छोई नसक्ने गरी बृद्धि भएपनि धानको मूल्यमा बृद्धि नहुंदा किसानहरू मारमा परेका हुन । धानको बिउ, खनजोत, सिँचाई, मल तथा किटनाशक औषधीको मूल्य आकाशिदै गएको भए पनि यता किसानले उत्पादन गरेको धानको मूल्य गत बर्षको जस्तै हुँदा आफुहरु मारमा परेको पर्सा जिराभवानी गाउपालिका वडा नं ३ निवासी रामअयोध्या साहले गुनासो गर्नुभयो ।

हाल पर्साको ग्रामीण क्षेत्रमा किसानहरुले उत्पादन गरेको धान १ हजार ९ सय देखि २ हजार रुपैया प्रति क्विन्टलका दरले व्यापारीहरूले खरिद गरिरहेका छन ।

बिगत चार बर्षदेखि धान खरिद गर्ने व्यापारीहरुले धानको नबढाएको पटेर्वा सुगौली गाउपालिका वडा नं ३ निवासी भागवत चौधरीले बताउनुभयो ।

किसानले धान लगाउदा लागेको ऋण तिर्न व्यापारीले दिएको मुल्यमा धान बेच्नु पर्ने बाध्यता रहेको हुँदा व्यापारीहरुले आफ्नो मनमानी ढंगले धानको मूल्य कायम गर्ने गरेको किसानहरूले गुनासो गरेका छन ।

बिउ बिजनदेखि खनजोत र रोपाई, मल, किटनासक औषधी र सिचाईमा गरिएको खर्चको हिसाब किताब गर्दा किसानले खेतमा गरेको लगानीसमेत नउठने पर्सा जगरनाथपुर गाउपालिका वडा नं १ का किसान रमेश चौधरीले गुनासो गर्नुभयो ।

एक बिगाहा खेतमा धान लगाउन सबै खर्च जोडदा ४० हजार रुपैयाको हाराहारीमा खर्च हुने गरेको र धानको उत्पादन भने २० देखि २५ क्वीन्टल सम्म हुँदा किसानहरु मर्कामा परेका छन् ।

सरकारले धान उत्पादन शुरु भएसँगै मुल्य तोक्नु पर्ने माग गर्दै धानको मुल्य तोक्न ढिलो हुँदा किसानहरु ऋण तिर्न सस्तो मुल्यमै धान बेच्न बाध्य हुने गरेको जगरनाथपुरका किसान रमेश चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button