तपाईँ सुन्दै हुनुहुन्छः

भुकम्पको पीडितको पक्की घरमा बस्ने सपना

 बोसिम्पाका भुम्प पीडित पानीपोखरीमा बस्दै आएको अस्थाई टहराहरु ।

दोलखा/भुकम्प गएको पनि चार बर्ष वितिसकेको छ, तर दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ बोसिम्पाका थामी समुदायका मानिसहरु अहिले पनि टहरामै दैनिकी गुजारी रहेका छन् ।

अब भने पक्की घर बनाएर बस्न सकिन्छ की भन्ने आश पलाएको छ, स्थानियले रामबहादुर थामीले भन्नु भयो – पुर्ननिर्माण प्राधिकरणले एकिकृत वस्ती निर्माणको लागि पुर्वाधारको काम सकेको छ र तिहार लगतै लालपुर्जा आउछ भनेको छ अनि हामी पक्की घर निर्माण सुरु गर्छौ ।

भुकम्प पछि बोसिम्पालाई उच्च जोखिमको क्षेत्र भनिएकोले त्यहाँका ८४ घर धुरीका भुकम्प पीडित नजिकै पानीपोखरीमा टहरामा बस्दै आएका थिए । पुर्ननिर्माण प्राधिकरणले एकिकृत वस्ती निर्माण गरिदिने भनेको र आर्थिक अभावको कारण अन्यत्र जमिन खरिद गरेर घर बनाउन समेत नसक्ने अवस्था भएकोले बोसिम्पाका थामी समुदाय एकिकृत वस्ति कुरेर बस्न बाध्य थिए ।

बोसिम्पाका वासिन्दाको लागि तयार गरिएको एकिकृत वस्ति निर्माण स्थल

एकिकृत वस्ति निर्माण ढिला भएपछि बोसिम्पाका ८४ घर धुरी भुकम्प पीडित मध्य अन्यत्र जग्गा हुने केहिले घर बनाएर बसेका छन् । ५७ घर धुरीको परिवार भने अहिले पनि वडा नम्बर १ कै पानीपोखरीमा टहरामै बसिरहेका छन् । सरकारले पुर्ननिर्माण प्राधिकरण मार्फत ५७ घर धुरीलाई पानीपोखरीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिदिने भनेपनि अहिलेसम्म एकिकृत बस्ती निर्माणको काम नसकिएकोले ५७ घर धुरीका करिब तीन सय भन्दा बढी मानिस टहरामै बस्न बाध्य भएको पानी पोखरी उपभोक्ता समितिका सचिव भीमबहादुर थामी बताउनु हुन्छ ।

सरकारले करिब तीन करोड ६० लाखको लागतमा पानीपोखरीमा एकिकृत बस्तीको लागि जग्गाको प्लटिङ, सडक, नाला निर्माण गरिदिएको छ तर प्लटिङको जग्गा भीमेश्वर नगरपालिकाको मापदण्ड अनुसार नभएकोले घर निर्माणमा समस्या देखिएकोमा अहिले जग्गा थप हुने भएपछि तिहार लगतै घर निर्माण सुरु हुने पानी पोखरी उपभोक्ता समितिका अध्यक्ष कुमार थामी बताउनु हुन्छ । अब भने पक्की घरमा बस्ने सपना पुरा होला जस्तो छ – उपभोक्ता समितिका अध्यक्ष कुमार थामीले भन्नु भयो ।

बोसिम्पाका ५७ घरधुरी मध्य चार घर धुरी विश्वकर्मा र अरु सबै थामी समुदायका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी पहिले पुर्ननिर्माण प्राधिकरणले डिजाईन गरेको एकिकृत वस्तीको घडेरी नगरपालिकाको मापदण्ड अनुसार नभएकोले मापदण्ड अनुसारको बनाउन पत्राचार गरिएको र सोहि अनुसार डिजाईन भएर आएकोले अब घर निर्माणको काम अघि बढ्ने बताउनु हुन्छ । बोसिम्पाका भूकम्प पीडितको लागि पानी पोखरीमा नमुना बस्ती निर्माण गर्ने नगरपालिकाको योजना भएकोले एकै डिजाईनको भवन निर्माणको लागि नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख केसीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button