तपाईँ सुन्दै हुनुहुन्छः

पारसको अप्रत्यासित राजीनामापछि क्रिकेटरदेखि समर्थकले दिए यस्तो प्रतिक्रिया

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिममा एक दशक क्याप्टेनशिप गरेका कप्तान पारस खड्काको अप्रत्यासित राजिनामासँगै क्रिकेटप्रेमीहरुबीचमा तरंग पैदा भएको छ । उनले आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा र क्यानमा नयाँ कार्य समिति आएसँगै पदबाट राजीनामा दिएपछि त्यसलाई क्रिकेट प्रेमीहरुलाई आश्चार्यमा पारेको हो ।

मंगलबार कप्तान पारसले नयाँ शिराबाट शुरुआत गर्नुपर्ने भन्दै कप्तानबाट राजीनामाको घोषणा गरेका थिए । २००९ देखि १० वर्षसम्म नेपाली क्रिकेट टिमको नेतृत्व गरेका खड्काको राजीनमापछि सामाजिक सञ्जालहरुमा यो विषयमा बहस भइरहेको छ । कसैले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् भने कसैले अब खेलाडीका रुपमा पारसले क्रिकेटलाई योगदान दिनुपर्ने सुझाव तथा शुभकामना दिएका छन् ।

पारसले ट्वीटरमा राजीनामा शेयर गरेपछि त्यसमा ३ सय बढीले रिप्लाई दिएका छन् भने ६ सयभन्दा धेरै रिट्वीट भएको छ । नेपाली टिमका स्टार स्पीनर सन्दीप लामिछानले कप्तान पारस खड्कासँगैको एक तस्वीर पोस्ट गर्दै पारसको कप्तानीमा आफुले करिअर शुरुआत गरेको र महत्वपूर्ण उपलब्धि प्राप्त गरेको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘तपाईँको नेतृत्वमा नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको छ । जुन पहिला कहिल्यै हासिल गरेको थिएन, मलाईसहित धेरै युवाहरुलाई प्रेरित गर्नुभयो ।’

सन्दीपले नेपाली क्रिकेटका लागि अझैं पनि पारसको कप्तानीको आवश्यकता रहेको बताए । उनले भने, ‘तपाईँको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौँ । तपाईँ साँच्चिकै एक लेजन्ड हुनुहुन्छ जसले हामि सबैकाे हृदयमा ठूलो छाप पारेको छ, द लिजेन्ड पारस खड्का ।’

त्यस्तै पारस खड्कालाई रिप्लाई गर्दै न्यौपाने प्रेम नारायण नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘समय र परस्थितिले सबैलाई सँधै साथ दिँदैन तर आज पारसलाई दुवैले साथ दिएको छ । पारस र नेपाली क्रिकेटको उद्वेश्य पूरा भएको छ । पारस तिमी हाम्रो मुटुको धड्कन हौ, त्यसैले त तिमी कप्तान नभए पनि नेपाली क्रिकेटको मैदानमा तिम्रो आवश्यकता महसुस गर्छ सबै नेपालीले। मार्गनिर्देशन सबैले पछ्याउन् ।’

सामाजिक सञ्जालमा पारसका समर्थक तथा क्रिकेट प्रेमीहरुले उनलाई राजीनामा फिर्ता लिनसमेत आग्रह गरेका छन् । उनीहरुले नेपाली क्रिकेट टिमलाई अझै पारसको नेतृत्व आवश्यक रहेको भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

पारसको ट्वीटमा आएका जवाफहरु हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button