तपाईँ सुन्दै हुनुहुन्छः

सीको नेपाल भ्रमण : विश्वमा नयाँ सन्देश

नारद गौतम

काठमाडौँ,  असोज २५ गते । परराष्ट्र मामिलाका जानकारहरूले चीनका राष्ट्रपति सि चिनफिङको दुईदिने राजकीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने बताउनुभएको छ । चीनका राष्ट्राध्यक्षबाट २३ वर्षपछि हुन लागेको यो उच्चस्तरीय भ्रमणले विश्वमा नयाँ सन्देश दिने भनाइ पनि उहाँहरूको छ । चीनका राष्ट्रपतिको आलेख शुक्रबार गोरखापत्र र दि राइजिङ नेपालमा छापिएपछि विज्ञहरूले राष्ट्रपतिको विचारको समेत प्रशंसा गर्नुभएको छ । विज्ञहरूको भनाइ उहाँहरूकै शब्दमा :

नयाँ फड्को
डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

राष्ट्रपति सीले आलेखमार्फत आफ्नो धारणा शुक्रबार सार्वजनिक गर्नुभएको छ । मुलुक सानो वा ठूलो भए पनि दुई देशबीचको सम्बन्धको आधार भनेको पारस्परिक हित, लाभको आधारमा हुने उहाँले स्पष्ट विचार राख्नुभएको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने र अझ बढी चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्नु प्रोत्साहित गर्ने भन्ने उहाँको भनाइ आएको छ, त्यो एकदम सकारात्मक छ ।
कूटनीतिक हिसाबले पनि यो भ्रमण अत्यन्तै महŒवपूर्ण हो । हाम्रो उत्तरी छिमेकी मुलुक चीन अहिले संसारकै दोस्रो महाशक्ति राष्ट्रको हो । यो अहिले पहिलो महाशक्ति राष्ट्र बन्ने बाटोमा रहेको छ । यस अर्थमा पनि राष्ट्रपतिको नेपाल भ्रमणले ठूलो महŒव राख्छ ।
दुई देशबीच रहँदै आएको सम्बन्धलाई अझ नयाँ उचाइमा पु¥याउन यस किसिमका उच्च पदस्थ व्यक्तिहरूले राजकीय भ्रमणमा शीर्ष नेताहरूबीच हुने उच्चस्तरका संवादले सम्बन्धलाई अझ उचाइमा पु¥याउन सहयोग पुग्छ । त्यसले राजनीतिक तहमा विश्वासको वातावरण बन्छ । जसले अन्य विषयमा अगाडि बढ्न सहयोग पु¥याउँछ । शीर्ष नेताहरूबीच हुने द्विपक्षीय संवाद र विचार आदानप्रदानबाट पनि यो भ्रमणको ठूलो महŒव राख्छ ।
चीन महाशक्तितर्फ उन्मुख मुलुक त छँदै छ, व्यापारिक दृष्टिले पनि विश्वका धेरै देशसँग परिचित छ । आर्थिक लगानीका हिसाबले पनि चीन अत्यन्तै प्रभावशाली लगानीकर्ताको रूपमा चिनिन्छ । आर्थिक लगानी गर्न सक्ने, व्यापार अभिवृद्धि गर्न सक्ने र द्विपक्षीय लगानी गर्न चीनलाई आकर्षित गर्न यहाँको वातावरणले पनि साथ दिएको छ । नेपालमा स्थिर सरकार निर्माण भएकाले हामी ‘समृद्ध नेपाल सुखी नेपाली’को बाटोमा अग्रसर छौँ । त्यसबाट नेपालको समग्र आर्थिक विकासलाई अगाडि बढाउन खोजेका छौँ । यसमा चीनको सहयोग, त्यहाँको लगानी बढाउन र व्यापार अभिवृद्धि गर्न पनि यस भ्रमणले उच्च महŒव राख्छ ।
हाम्रो उत्तरतिर रहेको चीनको स्वशासित जुन भूभाग छ, त्यसलाई पहिले अत्यन्त दुर्गम क्षेत्र मानिन्थ्यो तर दुई तीन दशकमा चीनले त्यहाँ पूर्वाधार, सडक, विद्युत् विकासमा अभूतपूर्व प्रगति गरेको छ । ती विकास प्रयासलाई नेपालतिर जोडेर हाम्रो विकासमा फाइदा लिने कुरा मुख्य हो । त्यसका लागि ‘कनेक्टिभिटी’ बढाउनुपर्छ । हवाई कनेक्टिभिटी राम्रो छ । हामी अब सडक र रेल कनेक्टिभिटी बढाउन चाहन्छाँैं । ‘क्रस बोडर ट्रान्समिसन लाइन’का सम्भावनाको खोजी गर्छौं, अप्टिकल फाइबरमा त हामी जोडिइसकेका छाँैं । ‘ट्रान्स हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ भन्ने एउटा फ्रेम तयार गरेका छौँ, त्यसभित्र रहेर यी कनेक्टिभिटीलाई हामी अगाडि बढाउन चाहन्छौँ । यस भ्रमणमा केही महŒवपूर्ण विषयमा सहमति हुँदै छ । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र कनेक्टिभिटी दक्षिणतिर मात्रै सहज थियो, त्यसलाई अब उत्तरतर्फ पनि सहज बनाउने हाम्रो प्रयास रहेको छ, यसमा यो भ्रमणले नयाँ फड्को मार्ने छ । भ्रमणका क्रममा हुने सहमतिलाई कार्यान्वयन गरेर लैजाँदा दूरगामी हिसाबले प्रभाव पर्ने छ ।

सर्वाधिक महत्त्वको भ्रमण
डा. दिनेश भट्टराई, कूटनीतिज्ञ

मैले राइजिङ नेपालमा छापिएको राष्ट्रपति सीको आलेख पढ्ने मौका पाएँ । त्यसमा राष्ट्रपतिले चीन र नेपालबीच पारस्परिक हितलाई ध्यानमा राखेर सहयोग गर्ने भन्नुभएको छ । चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताको सम्मान गर्छ भने नेपालले एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ । यस्ता चीन र नेपालबीचका पारस्परिक हितमा दुवैतर्फबाट ध्यान दिनुपर्छ ।
कूटनीतिक हिसाबले चीनका राष्ट्रपतिको नेपाल भ्रमण सर्वाधिक महŒवको भ्रमण हो । यस्तो उच्चस्तरीय भ्रमण २३ वर्षपछि हुन लागेकोले पनि यसको ठूलो महŒव छँदै छ । चीनको राष्ट्रपतिको अघिल्लो भ्रमण सन् १९९६ मा भएको थियो । त्यो परिवेश र अहिलेको परिवेशमा धेरै फरक भइसकेको छ । अहिले चीन एउटा शक्तिका रूपमा उदाइरहेको छ । चीनले अहिले अमेरिकासँग बराबरीको सम्बन्धको कुरा गरिरहेको छ । विश्वमा भूराजनीतिक बदलाव जति छिटोछिटो बदलिइरहेको छ, त्यसको केन्द्रबिन्दु चाहिँ एसियामा पनि हाम्रा दुई छिमेकी चीन र भारतमा केन्द्रित छ । चीन र भारतबीच हाम्रो भौगोलिक धरातलले गर्दा स्वभावतः विश्वको ध्यान नेपालमा पनि बढेको छ । त्यसले पनि राष्ट्रपति सीको भ्रमणबाट विश्वमा ठूलो सन्देश प्रवाह हुने छ ।
चीनका राष्ट्रपतिले भारत भ्रमण गर्नुभयो र सँगसँगै नेपालको भ्रमण गर्दै हुनुहुन्छ । भारत र चीनबीचको सम्बन्धले पनि विश्व सम्बन्धमा फरक पार्छ । जस्तो, शीतयुद्धको समयमा अमेरिका र रुसबीच हुने निर्णयले विश्वलाई प्रभाव पाथ्र्यो । अहिले भारतको राजधानीमा हुने निर्णयलाई विश्वले हेरिरहेको छ । नेपालमा दुई ठूला छिमेकीको मात्र होइन, पश्चिमा शक्तिहरूको ध्यान रहेको छ । त्यसैले नेपालले चनाखोपूर्ण तरिकाले भूराजनीतिक अवस्था र शक्ति सन्तुलनको व्यवस्थापन गर्नुपर्छ ।
चीनको राष्ट्रपति जहाँ पायो त्यहाँ जाने व्यक्तित्व हुनुहुन्न । उहाँले जसरी महŒव दिएर दुई दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ, यो आफैँमा महŒवपूर्ण छ । यस भ्रमणलाई प्रभावकारी बनाउन हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली कसरी प्रस्तुत हुनुहुन्छ, त्यसैको आधारमामा सफलता प्राप्त हुने छ । सन् २०१८ मा प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत ३५ वटा योजनालाई प्राथमिकतामा राख्नुभयो । चीनले पछि आएर एउटा अङ्कमा ल्याऊ भनेकाले अहिले नौवटा योजनालाई छनोट गरेका छौंँ । भेटवार्तामा नेपालले के चाहेको छ चीनबाट ? त्यसलाई प्राथमिकतापूर्वक राख्न सक्नुपर्छ भन्ने मलाई लाग्छ ।

उत्साहजनक र गौरवपूर्ण
प्रा.डा. मीना वैद्य मल्ल, त्रिभुवन विश्वविद्यालय

राष्ट्रपति सीको आखेलमा दुई देशबीचको पारस्परिक हितमा जोड दिनुभएको छ । उहाँको भनाइ सार्वजनिक भएबाट सम्बन्धलाई उच्च महŒवमा राखेको देखिन्छ । नेपाल र चीनबीचको सम्बन्ध जति पौराणिक छ, त्यति नै ऐतिहासिक पनि छ । राष्ट्रपति सीको नेपाल भ्रमण मित्रताका विकासमा एकदमै उत्साहजनक र गौरवपूर्ण छ । आर्थिक विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको चीनको अनुभव र ज्ञान हामीले यो भ्रमणबाट हासिल गर्न सक्नुपर्छ ।
नेपाल र चीनबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुको कुनै विकल्प छैन, त्यसैले यस भ्रमणले हाम्रो सम्बन्धलाई अवश्य पनि नयाँ उचाइ पु¥याउने नै छ । नेपालले आफ्नो राष्ट्रिय हित र सुरक्षालाई कसरी अगाडि लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ । यो भ्रमणमा पूर्वाधारका धेरै परियोजनामा सम्झौता हुने अपेक्षा गरिएको छ । हामीले अधिकताको आधारमा फलदायी बनाउनुपर्छ । चीन अहिले बीआरआई परियोजना लिएर अगाडि बढेको छ, यसले सडक, रेलमार्ग, विद्युतीय प्रसारण, हवाई मार्गजस्ता विषयमा जोड दिइरहेको छ । नेपाल पनि बीआरआईको सदस्य मुलुक भएकाले यहाँको भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्छ ।

सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ
श्रीधर खत्री, अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ

चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु नेपालका लागि सुखद अवसर हो । उहाँको आलेखमा रणनीति र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरिएको छ, यसले नेपाल र चीनको सम्बन्धलाई समृद्ध बनाउन सहयोग पुग्ने छ । हाम्रो सम्बन्धको आधार विश्वासमा आधारित हुनुपर्छ । नेपालको विकासका लागि आगामी दिनमा चीनको सहयोग अझ महŒवपूर्ण हुने छ । चीनबाट प्राप्त हुने सहयोग नेपालको ‘भाइब्रेन्ट डेमोक्रेसी’लाई सहयोग पुग्ने हुनुपर्छ । नेपालले आफ्नो भूराजनीतिक यथार्थलार्ई ध्यानमा राखेर हाम्रो सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।

भ्रमण कोसेढुङ्गा हुने छ
देवराज दाहाल, राजनीतिशास्त्री

राष्ट्रपति सी चिनफिङको यो भ्रमण ऐतिहासिक कोसेढुङ्गा साबित हुने छ । बीआरआईअन्तर्गतका पूर्वाधार विकासका परियोजनाहरू सडक, रेलमार्ग, विद्युतीय प्रसारण, हवाइ मार्गजस्ता कार्यान्वयन भएबाट दुई पक्षीय सम्बन्धमा अझ विस्तार हुने छ । यसले क्षेत्रीय र विश्वमा नेपालको भूमिकालाई समेत प्रवद्र्धन गर्ने छ ।

गोरखापत्रबाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button