तपाईँ सुन्दै हुनुहुन्छः

विश्व सैनिक खेलकूदमा नेपाली सेना सहभागी हुँदै

अच्युत अर्याल । नेपाली सेनाले चीनको उहानमा आगामी कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिक रुपमा आज विदाई गरेको छ ।

सैनिक मुख्यालय जंङगी अड्डामा आयोजित कार्यक्रममा खेलाडी तथा प्रशिक्षकलाई संगठनको तर्फबाट विदाई गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले उच्च आत्मवलका साथ नेपाली सेना अनुशासनको हिमायती हो भन्ने ढंगबाट प्रतियोगीतामा प्रस्तुत हुन निर्देशन दिनुभयो ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सिजमले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने छ । नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ । प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने छ ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ ।

विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनुहुनेछ ।

उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button