तपाईँ सुन्दै हुनुहुन्छः

दशैँमा इन्धनको अभाव हुँदैनः निगम

काठमाडौँ । नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यका लगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको आयात नियमित रुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ ।

फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारी साधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले आज उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।

थानकोट डिपोबाट आज ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन् ।

दशैँलाई लक्षित गर्दै विगत तीन–चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ । निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ ।

उपत्यकाका सबै पेट्रोल पम्पबाट सहज रुपमा इन्धन बिक्री भइरहेको र दशैँको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले डिपो आंशिक खुला राख्ने बताएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई यथावत राखेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button