तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र अष्ट्रेलियाबीच हुने खेलको समय परिवर्तन

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हुने विश्व कप छनोटअन्तर्गत समूह चरणको खेलको समय परिवर्तन भएको छ ।

यसअघि अष्ट्रेलियाको समय अनुसार दिउँसो ४ बजे सुरु हुने भनिएपनि नयाँ समय अनुसार अब रातको ८ बजे हुने भएको छ ।

अब नेपाली समयअनुसार खेल २.४५ बजे सुरु हुनेछ । नेपाल र अस्ट्रेलियाबीचको खेल असोज २३ गते क्यानबेरास्थित जियो स्टेडियममा हुने तय छ ।

नेपाली टोली सोही खेलका लागि बुधबार अस्ट्रेलिया प्रस्थान गरेको छ । नेपाली टोलीले सिड्नीस्थित प्राइभेट फुटबल एकेडेमीमा केही दिन प्रशिक्षण गर्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

अस्ट्रेलियासँग खेलको भोलिपल्ट असोज २४ गते नेपाली टोली जोर्डन प्रस्थान गर्नेछ । नेपाल र जोडर्नबीच असोज २८ गते खेल हुनेछ । त्यसपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

एसियाको विश्व कप छनोटको समूह बी मा रहेका ५ मध्ये ४ टोली कुवेत, अस्ट्रेलिया, जोर्डन र नेपालको समान ३ अंक छ भने चाइनिज ताइपेइ अंक विहिन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button