तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले परिकल्पना गरे अनुसार सामाजिक सुरक्षा कार्यक्रम मार्फत जेष्ठ नागरिकको सवालमा सरकार अगाडी बढिरहेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित २९ औं अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवश मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा कार्यक्रमलाई जीवनउपयोगी रुपमा विस्तार गर्दै लैजान सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले जेष्ठ नागरिक देशका धरोहरका रुपमा रहेकाले आदर गर्नुपर्ने जेष्ठ नागरिकलाई घरबाट वृद्धाश्रममा पुर्याउने परिपाटीको सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले जेष्ठ नागरिकलाई सम्मान गनुपर्ने र उहाँहरुबाट आशीर्वाद लिनुपर्ने विगतदेखिको परम्परालाई कायम राख्दै आउने पुस्तालाई समेत त्यस्तो सन्देश दिनु जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विगत एक सय रुपैयाँबाट सुरु भएको वृद्ध भत्ता अहिले ३ हजार रुपैयाँ पुगेको र यसै सरकारले यसलाई विगतमा भन्दै आएको जस्तै मासिक ५ हजार रुपैयाँ पुर्याउने बताउनुभयो ।

कार्यक्रममा संसदको महिला बालबालिका तथा सामाजिक समितीका सभापति निरु पालले जेष्ठ नागरिक सम्मानको कुरा गर्दा आगामी दिनमा भाबी सन्ततीलाई थप नैतिक शिक्षा दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

त्यस अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठ, पूर्ब अध्यक्ष डा. गौरीशंकरलाल दास लगायतका बक्ताले जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी भएकाले त्यसलाई प्रयोग गरेर पाईदा लिनेतर्फ सरकारले सोच्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिक क्षेत्रमा उत्कृट योगदान दिने हेटौडास्थित संस्था मानवसेवा आश्रम र भक्तपुरका कैलाशनाथ प्रधानांग र पाँचथरका राधिका थापालाई सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button