तपाईँ सुन्दै हुनुहुन्छः

फोहाेर व्यवस्थापनमा समस्यै समस्या

काठमाडौं । काठमाडौं महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहाेर व्यवस्थापन गर्न समस्या हुने भएको छ । बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन गर्न समस्या भएको हो ।

दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहाेर व्यवस्थापनमा समस्या आएको कामपाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन । दशैँसम्म बाटो निर्माणको काम जारी रहने भएकाले दशैँमा फोहर व्यवस्थापन गर्न समस्या हुने उनी बताउँछन ।

अन्य समयमा भन्दा वर्षात्को समय र चाडबाडमा काठमाडौँ उपत्यकामा फोहाेर बढी हुन्छ । काम नभएको समयमा थोरैको अनुपातमा फोहाेर व्यवस्थापन गरिँदै आएको भए पनि नियमित रुपमा फोहाेर व्यवस्थापन हुन सकेको छैन । ‘अहिलेदेखि नै फोहाेर थुप्रिदा दशैँमा थप समस्या हुन्छ’, श्रेष्ठले भने ।

दुई वर्षका लागि फोहाेर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर बिसर्जन गरिँदै आएको छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहाेर उक्त स्थानमा बिसर्जन गरिन्छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहाेर सङ्कलन हुँदै आएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहाेर फाल्न प्रयोग गरिँदै आएको छ । ससडोलबाट दुई किलोमिटर टाढाको बञ्चरे डाँडामा सरकारले दीर्घकालीन फोहाेर व्यवस्थापन स्थल निर्माण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button