तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपतिको अवधारणा अन्तर्राष्ट्रियकरण भइसक्यो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्कूल विभाग प्रमुख एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनपिङले अघि सार्नुभएको बिआरआई र मानव जातिको साझा भविष्यका लागि एक समुदाय निर्माणको अवधारणा अन्तर्राष्ट्रियकरण भइसकेको बताउनुभएको छ ।

चीन अध्ययन केन्द्रले विहिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रपति सीको अवधारणाले महत्वपूर्ण स्थान पाएको बताउनुभयो । “संयुक्त राष्ट्रसङ्घबाट पारित हुने सामाजिक विकास, सुरक्षा परिषद् र मानवअधिकार काउन्सिलको प्रस्ताव, साङ्घाइ कोपरेशन अर्गनाइजेशनबाट पारित घोषणापत्र र चीन अफ्रिका सहकार्य फोरमका २०१९ देखि २०२१ सम्मका कार्ययोजनामा समेत राष्ट्रपति सीको यस अवधारणा र विचारले महत्वपूर्ण र स्थान प्राप्त गरेको छ”, उहाँले भन्नुभयो ।

वर्तमान विश्वले भोगिरहेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने सीको अवधारणाले आज विश्व समुदायलाई सोच्न बाध्य बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले युद्ध होइन, शान्ति र सद्भावसहितको समाज निर्माणका लागि सीका अवधारणा मुखरित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीको अवधारणाले खुल्ला बजार नीति र बहुपक्षीय व्यापारिक सम्बन्धले मानवजातिका बीचमा निम्त्याएको असमानता र त्यसले थपिरहेका चुनौतीको सामना गर्न सबैलाई प्रेरित गरेको छ ।” चिनियाँ राष्ट्रपतिद्वारा अगाडि सारिएको यो सोच केबल सोचमा सीमित नभएर काममा पनि अगाडि आएको उहाँको भनाइ थियो ।

विश्व सुशासनको सुधार र आवश्यकतालाई ध्यानमा राखेर अन्तरराष्ट्रिय सम्बन्धको मार्गचित्रसहित अगाडि आएको यो अवधारणा माक्र्सवादका सैद्धान्तिक पक्षहरुको नयाँस्वरुप र प्रयोग हो भन्दै उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपति सीको यस अवधारणाले विद्यमान आर्थिक असमानता, सामाजिक विभेद् र यसले सिर्जना भएका सबै खाले चुनौतीहरुको सामना गर्दे विकास, समृद्धि, भातृत्व सद्भावसहितको समाज निर्माणमा सबैका योगदानको आवश्यकतालाई जोड दिएको बताउनुभयो ।

“त्यसैले पनि उहाँको यो अवधारणा माक्र्सवादको सैद्धान्तिक धरातलमा विकसित भएको नयाँ विचार हो भन्ने स्पष्ट छ”, उहाँले भन्नुभयो । नेपालप्रतिको बुझाइमा विश्व समुदायको दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले विश्व शान्तिका लागि नेपालले खेलेको भूमिका सिङ्गो मानवजातिका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button