तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको उच्चतम प्रयोगले मुलुकलाई समृद्ध बनाउन सकिन्छ : विज्ञहरु

जनकपुरधाम – नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार पार्नका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको आयोजनामा डिजिटल नेपाल फ्रेमवर्क कार्ययोजना सम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम आजदेखि जनकपुरधाममा शुरु भएको छ ।

प्रदेश नंं २ सरकारका विभिन्न मन्त्रालय, निकाय, संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्रालय अन्तर्गतको निकाय, सरकारी तथा नीजि स्तरका सञ्चार माध्यममा कार्यरत रहेका सञ्चारकर्मी तथा कम्प्युटर एशोसिएशनका पदाधिकारीहरु सम्मिति रहेको दुई दिने अन्तरक्रियामा सूचना प्रविधिको विकासमा नेपाल सरकारवाट भैरहेको प्रयास, यसको प्रयोग तथा सुरक्षाको विषयमा छलफल भैरहेको छ ।

मन्त्रालयका सहसचिव तथा सूचना प्रविधि विज्ञ विरेन्द्र मिश्रको अगुवाईमा भैरहेको सो कार्यक्रममा सूचना प्रविधिको अधिकतम प्रयोगले हुने फाईदा, यसको उच्चतम प्रयोग तथा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको विषयमा दुई दिनसम्म छलफल, अन्तरक्रिया तथा सुझाव संकलन गर्ने कार्यक्रम रहेको मन्त्रालयका उपसचिव राजन पौडेलले बताउनुभयो ।

दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनमा कार्यक्रममा बोल्दै प्रदेश नंं २ का नीति आयोगका सदस्य डा. सुरेन्द्र झाले सूचना प्रविधिको प्रयोगले जनतालाई सुलभ तरिकाले सेवा प्रदान गर्नुका साथै सेवालाई कम खर्चिलो, पारदर्शी तथा सुशासन मैत्री बनाउन सकिने बताउनुभयो ।

उहाले सन् २०३० सम्म नेपाललाई विकसित राष्ट्रमा स्तरोन्नति गर्नका लागि सुचना प्रविधिको अत्यधिक प्रयोग गर्न जरुरी रहेको बताउनु भयो । नीति आयोगका सदस्य डा. झाले अहिले पनि सूचना प्रविधिको कम प्रयोग तथा रिसर्च गर्नेमा हाम्रो मुलुक नै पछाडी परेको बताउदै प्रदेश नंं २ सरकारले पनि सूचना प्रविधिको प्रयोग बढाउने शोच सहितको गृहकार्य गरिरहेको बताउनुभयो ।

प्रदेश नंं २ का निमित्त प्रमुख सचिव शंकर सुवेदीले मुलुकमा अहिले सूचना प्रविधिको प्रयोग गर्ने क्रम बढेसंगै चुनौतिहरु पनि थपिदै गएकाले यस तर्फ सजग एवं सचेत रहन जरुरी रहेको बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सूचना प्रविधिको प्रयोग गर्ने तरिकावाट अहिले पनि धेरै जनता बंचित हुनु परेको बताउदै यसको प्रयोग बढाउनका लागि ईच वन टिच वनको नीति लिएर हरेक जान्नेले नजान्नेलाई सिकाउनु पर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव विरेन्द्र मिश्रको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्यानका प्रतिनिधि विमलेश झा र मन्त्रालयका उपसचिव राजन पौडेल सहितका वक्ताहरुले बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button