तपाईँ सुन्दै हुनुहुन्छः

अन्त्य हुँदै बजेट अधिवेशन : संसदमा प्रधानमन्त्रीले संवोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा संम्बोधन गर्नुहुने भएको छ । संघीय संसदको आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।

सिंगापुरमा मृगौलाको उपचार गराई स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीको यो पहिलो सम्बोधन हो । सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकमा उठेका समग्र बिषयको जवाफ दिने र सरकारले गरिरहेको कामबारे जानकारी गराउने योजना छ ।

यसैबीच आजै संघीय संसद्को चालु बजेट अधिवेशन आज अन्त्य हुँदैछ । वैशाख १६ गतेबाट सुरु भएको चालु अधिवेशन आज अनत्य हुनेछ । बजेट अधिवेशनको अन्त्यपछि दशैं, तिहार तथा छठलगायतका पर्वपछि हिउँदे अधिवेशन आह्वान हुनेछ ।

सरकारको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको जानकारी पत्र संसदलाई पठाउने प्रचलन छ । उक्त पत्र प्राप्त भएपछि अधिवेशन अन्त्य गरिन्छ ।

चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । यस्तै, बजेट अधिवेशनकै अवधिमा कर्मचारी समायोजन, प्रहरी समायोजन तथा प्रहरीको समन्वय सम्बन्धी विधेयक पारित भएका थिए। चालु अधिवेशनले भूमि विधेयक, वन विधेयक, राहदानी विधेयक, वातावरण विधेयक, विज्ञापन नियमन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक विधेयक पनि पारित गरेको छ । आर्थिक कार्यविधि सम्बन्धी विधेयक पनि चालु अधिवेशनबाट पारित भयो ।

लामो समयदेखि समितिमा विचाराधीन रहेका नागरिता तथा संघीय निजामती सेवा गठन, मानव अधिकार आयोगको ऐन संशोधन लगायतका विधेयक यो पटक पनि पारित हुन सकेनन्।

विवादका कारण रोकिएका मिडिया काउन्सिल विधेयक र लोक सेवा आयोग विधेयक भने प्रक्रियामा गइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button