तपाईँ सुन्दै हुनुहुन्छः

बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध

 खोटाङ, २ असोज–लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “काठमाडौँबाट मङ्गलबार बेलुका छुटेको सबै सवारी साधन सिन्धुली जिल्लाको खाङ्साङबेसीमा रोकिएको छ”, उहाँले भन्नुभयो, “भलबाढी र पहिरोका कारण गाडी रोकिएपछि हजारौँ यात्रु बीच सडकमै अलपत्र परेका छन् । तत्काल पहिरो हटाएर बिच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने अवस्था आएको छ ।”

दशैँको मुखमा यातायात सेवा अवरुद्ध भएपछि खोटाङबाट राजधानी तथा तराईका जिल्ला आवतजावत गर्ने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

हप्ता दिनदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ । कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।

दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक पूर्णरूपमा अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने कुनै पनि सडकमा सवारी चल्न सकेका छैनन् ।

(रासस) 

प्रतिक्रिया राख्नुहोस्

Back to top button