तपाईँ सुन्दै हुनुहुन्छः

सफाइ अभियानमा डेङ्गु रोगको जनचेतना  

काठमाडौँ, २८ भदौ –  उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियानका क्रममा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियान गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ३३१औँ हप्तामा त्रिपुरेश्वरस्थित ललितपुरतर्फको क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ३५० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । नदी किनारलगायत सडकमा जमेको पानीमा डेङ्गु रोग फैल्याउने लामखुट्टे हुनसक्ने भएकाले सफाइमा ध्यान दिऔँ भन्दै त्यस क्षेत्रमा घरदैलो अभियान पनि सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

महाअभियानमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सक्रियता थियो । मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका वडा नं ७ स्थित नदी किनारमा सफाइ ग¥यो ।

सो क्षेत्रको वाग्मती सफाइको २९३ औँ हप्तामा कुहिने फोहर जति कम्पोष्टविनमा राखी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको छ । मञ्चले गुह्येश्वरीभन्दा माथिको वाग्मतीमा सफाइ अभियान चलाउँदै आएको छ । अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशीष घिमिरे सेवानिवृत्त हुनुभएकामा सफाइ अभियानमा सहयोग पु¥याएबापत उहाँको बिदाइ पनि गरिएको थियो ।

रुद्रमती सफाइको २८५औँ हप्तामा रातोपुलबाट रुद्रपनेकु पुल हुँदै कालोपुलसम्मको नदी किनारमा सफाइ गरियो । काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्य मनोज डङ्गोललगायत २५० भन्दाबढी अभियानकर्मीको सफाइमा सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सफाइबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरियो ।

विष्णुमती सफाइको २५८औँ हप्तामा टोखा नगरपालिकाका वडा नं ८, ९, १० र ११ को समेत सहभागितामा यस क्षेत्रमा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियान सञ्चालन गरियो । बिहान चार घण्टा विष्णुमती सफाइ अभियानको आयोजनामा त्यस क्षेत्रमा सफाइसहित चेतनामूलक कार्यक्रम गरिएको संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो ।

चक्रपथ उत्तर क्षेत्र सफाइको १२८औँ हप्तामा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगर क्षेत्रमा पनि १२८औँ हप्ताको सफाइ कार्यक्रम गरियो । अभियानकर्मी जम्मा भई सडकमा जम्मा भएको फोहर टिपी व्यवस्थापन गर्नुका साथै डेङ्गुलगायत रोग निदानका लागि सफाइ अभियानको महत्वका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।

चक्रपथ पश्चिम खण्ड सफाइको ११०औँ हप्तामा स्वयम्भू बुद्ध उद्यान क्षेत्रमा सफाइ गरियो । आजको यस क्षेत्रको सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । यसैगरी आज वाग्मतीको तिलगङ्गा, गुह्येश्वरी र सुन्दरीघाट, रुद्रमती, मनोहरा ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान फैलिएर हाल देशभरका १०५ भन्दाबढी स्थानमा सफा गर्ने जागरण आरम्भ भएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button