तपाईँ सुन्दै हुनुहुन्छः

आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति कार्यन्वयनमा आउने

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले बुधबार त्रिभुवन विश्वविद्यालयलाई लिखित निर्देशन दिदैं यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा १७ को ७ बमोजिम यसै शैक्षिकसत्र देखि छात्रवृत्तिको व्यवस्था गरिने निर्देशनमा उल्लेख छ । साझा प्रवेश परीक्षा भने आगामी शैक्षिक सत्र देखि कार्यान्वयन गरिने निर्देशनमा जनाइएको छ ।

त्यस्तै सहकुलपति कार्यालयले विद्यार्थी भर्ना गर्दा शुल्कको किस्ताबन्दी बैंक भौचर विश्वविद्यालयले बुझ्ने व्यवस्था गर्न ताकेता गरेको छ । विद्यार्थीको नामावली र बैंक भौचरको प्रति सम्बन्धित मेडिकल कलेजलाई जानकारी गराउने व्यवस्था गर्न निर्देशन दिइएको हो ।

मेडिकल कलेजहरुले सरकारले तोकेको ३५ देखि ४२ लाखभन्दा दोब्बर बढीसम्म शुल्क उठाउने गरेको भेटिएपछि मन्त्रालयले निर्देशन दिएको हो ।
निर्देशनमा मेडिकल शिक्षाका विद्यार्थीबाट लिने परीक्षा, रजिष्ट्रेशन लगायतको शुल्क निर्धारण गरेर शैक्षिकसत्र सुरु हुनुअघि नै सार्वजनिक गनुपर्ने उल्लेख छ ।

कलेजहरुले लिने होस्टल र खाना खर्चवाफतको शुल्क समेत सञ्चार माध्यमबाट सार्वजनिक गनुपर्ने मन्त्रालयले जनाएको छ । विद्यार्थीले गर्ने इन्टरसिपमा समेत मेडिकल कलेजहरुबीच एकरुपता ल्याउन निर्देशन दिइएको हो । निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त रकम फिर्ता गर्ने सहमति कार्यान्वयन गरी मन्त्रालयलाई जानकारी दिने निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button