तपाईँ सुन्दै हुनुहुन्छः

सुधारको संकेत : आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं।अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्सा आयातले ओगटेको नेपालजस्तो देशको व्यापार समीकरणमा धेरैपछि परिवर्तन आएको छ अर्थात् आयातको प्रवृत्ति यस पटक घटेको छ, निर्यातमा तुलनात्मक वृद्धि देखिएको छ । खर्बौं व्यापार घाटाको भयावह स्थितिबाट गुज्रिरहेको मुलुकका लागि झट्ट पत्यार नलाग्न सक्छ, व्यापार घाटाको आयाम पनि यस पटक घटेको छ ।

यस पटक अर्थात् चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयातको प्रवृत्ति घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको साउनको तथ्याङ्कअनुसार पहिलो महिनामा नेपालले एक खर्ब १५ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये एक खर्ब ६ अर्ब ७२ करोड रुपियाँको आयात भएको छ । यद्यपि यो मूल्य अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा ११.५१ प्रतिशतले कम हो । उक्त अवधिमा नेपालले एक खर्ब २० अर्ब ६१ करोड रुपियाँको आयात गरेको थियो । यस हिसाबले आयात करिब १४ अर्ब रुपियाँले घटेको देखिन्छ ।

निर्यातमा पनि व्यापक सुधार देखिएको छ । अघिल्लो साउनको तुलनामा यसपटक २७.६८ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड ७० लाख रुपियाँ पुगेको छ । गत वर्षको समीक्षा अवधिमा निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपियाँ थियो । निर्यात तुलनात्मक अवधिमा करिब दुई अर्ब रुपियाँले बढेको छ ।

व्यापार घाटा नेपालको सधैँको समस्या हो । आयातको हिस्सा क्रमशः बढ्दै जाँदा घाटाको आकार पनि निरन्तर बढिरहेको यसअघिका तथ्याङ्कले प्रमाणित गर्छन् । तर चालू वर्षको साउनमा भने व्यापार घाटाको यस्तो प्रवृत्तिमा पनि निकै सुधार देखिएको छ । करिब १४ प्रतिशतले साउनमा व्यापार घाटा अघिल्लो साउनको तुलनामा घटेर ९७ अर्ब ८८ करोड ८२ लाख रुपियाँ पुगेको छ । गत साउनमा व्यापार घाटाको आकार एक खर्ब १३ अर्ब ६८ करोड रुपियाँ थियो ।

समग्र अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्क पनि सुखद देखिन्छ । गत वर्ष साउनमा एक खर्ब २७ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार भएकोमा ९.३९ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब रुपियाँ पुगेको छ । व्यापारको यो समग्र संरचनामा देखिएको सुधारले आयात निर्यात अनुपातमा पनि सुधार ल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button