तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् उपकरण चोरी हुँदै

डोटी-उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।

विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको छ । पावरहाउस बेवारिसे भएपछि अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताउनुभयो ।

बाढीपहिरोले पावरहाउसको पेनस्टक पाइप तथा पावरहाउसमा केही क्षति पु¥याएपछि अहिलेसम्म सो पावरहाउसको मर्मतकार्य नगरिँदा र पावरहाउसमा कर्मचारीसमेत नबस्दा सामान दिनहुँ चोरी हुन थालेको पावरहाउससँगै जोडिएको शिखर नगरपालिका–१ खातीगाउँका स्थानीयवासी खड्क खातीले बताउनुभयो ।

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले बाढीपहिरोले क्षति पु¥याएको सो पावरहाउस मर्मत गरेर विद्युत् सञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताउनुभयो । उक्त पावरहाउस पुनःनिर्माण गरी विद्युत सञ्चालन नगरिँदा डोटीमा अहिले दिनहुँजसो लोडसेडिङ हुन थालेको छ ।

दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङमुक्त घोषणा गरिए पनि आन्तरिकरूपमा विद्युत्मा आउने खराबीका कारण यहाँ दैनिकरूपमा लोडसेडिङ हुन थालेको विद्युत् कर्मचारी बताउँछन् ।

उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरले चोरेर बिक्री गरिसकेको बताइएको छ । कसले चोर्दैछ त ती उपकरण भन्ने बारेमा न विद्युत् कार्यालयलाई जानकारी छ न नजिकैको सुरक्षाकर्मीलाई । धमाधम विद्युत्का सामग्री चोरी हुँदासमेत स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानीयवासीको छ । डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख बुद्धिनाथ झाले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरूपमा अनुसन्धान तथा जानकारी लिने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button