तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्यायो नयाँ ब्रुमर

ललितपुर । ललितपुर महानगरपालिकाको सडक सफा गर्नको लागी दुई वटा ब्रुमर खरिद गरेको छ । महानगरपालिकाले अब दैनिक एक घण्टा ब्रुमर द्धारा सडक सफा गर्ने जनाएको छ ।

हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक जावलाखेलदेखि नख्खु पुल र पुल्चोकदेखि लगनखेलसम्म आवश्यकताअनुसार सञ्चालन गरिनेछन् ।”

महानगरप्रमुख महर्जनले रु चार करोड ४८ लाख ११ हजार २८० तिरेर ललितपुरमा दुई ब्रुमर भित्र्याएको जानकारी दिनुभयो । सो ब्रुमर डिजेलबाट सञ्चालन हुनेछन । जेनटेक प्राइभेट लिमिटेड कम्पनीका प्रबन्ध निर्देशक राजन श्रेष्ठका अनुसार सो बु्रमरसँग ६२० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ । सो कम्पनीले ललितपुरमा दैनिक ब्रुमर सञ्चालन गराउन महानगरका पाँच प्राविधिकलाई निःशुल्क तालीम दिइसकेको बताएको छ । यो ब्रुमरले परीक्षणकालका लागि एक हप्ता ललितपुरको मुख्य सडक मात्र सफा गर्नेछ ।

यसबाट सङ्कलित फोहरमध्ये पुनः प्रयोग गर्न मिल्नेलाई छुट्टै भण्डारण गरी प्रयोगमा ल्याइने, घाँसलाई कुहाएर कम्पोष्ट मल बनाइने र माटोलाई खाल्डाखुल्डी पुर्न प्रयोग गरिने भएको छ ।

हाल ललितपुर महानगरसँग सानो एउटा समेत गरी तीन ब्रुमर छन् । महानगर स्रोतका अनुसार बु्रमरले चक्रपथ एरिया सफाइ गर्ने कुरा अघि बढाएको छैन । हाल उक्त सानो ब्रुमरको ब्रस खिइएकाले त्यसलाई केवल पाटन दरबार क्षेत्रको सफाइमा प्रयोग गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button